उत्कृष्ट कार्यकालपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट बिदा भए एसएसपी नवराज अधिकारी

2.77K
shares

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीलाई एक विशेष समारोहबीच बिदाइ गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षक सचिवालय अन्तर्गत उजुरी छानबिन महाशाखा, नक्सालमा सरुवा (काज) भई जान लागेका अधिकारीलाई सम्मानसहित “फेरी भेटौँला” कार्यक्रम आयोजना गरिएको हो।

आयोजित कार्यक्रममा हालै उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका एसएसपी सुरेश प्रसाद काफ्लेले एसएसपी अधिकारीलाई मायाको चिनो प्रदान गर्दै आगामी व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले एसएसपी अधिकारीको कार्यकाललाई स्मरण गर्दै उहाँले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा प्रवर्द्धन, जनचेतनामूलक अभियान तथा ट्राफिक अनुशासन कायम गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व सम्हालेको अवधिमा एसएसपी अधिकारीले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, प्रविधिमैत्री सेवा विस्तार गर्ने तथा ट्राफिक नियम पालनामा जनसहभागिता बढाउने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। उहाँको नेतृत्वमा सञ्चालन गरिएका विभिन्न अभियानहरूले राजधानीको ट्राफिक व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको प्रहरी कर्मचारीहरूको भनाइ छ।

कार्यक्रमको अन्त्यमा उपस्थित प्रहरी कर्मचारीहरूले एसएसपी अधिकारीको आगामी जिम्मेवारी सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै उहाँको योगदानको उच्च मूल्याङ्कन गरेका थिए।


divya collage
unigloble collage