मंगलबार आयोजित कार्यक्रममा मन्तव्य व्यक्त गर्दै डीआईजी गोविन्द थपलियाले मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदाका अनुभव, कार्यालयले हासिल गरेका उपलब्धि तथा मातहतका प्रहरी कर्मचारीहरूको सहयोग र सहकार्यको स्मरण गर्दै सम्पूर्ण प्रहरी कर्मचारीप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले नवआगन्तुक कार्यालय प्रमुख डीआईजी ओम प्रसाद अधिकारीलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो।

त्यसैगरी नवआगन्तुक डीआईजी ओम प्रसाद अधिकारीले सरुवा भई जान लाग्नुभएका डीआईजी गोविन्द थपलियाको योगदानको प्रशंसा गर्दै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। साथै उहाँले मधेश प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न शाखाका प्रमुखहरू तथा प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नवआगन्तुक प्रमुखलाई स्वागत तथा सरुवा भई जान लाग्नुभएका प्रमुखलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
































