रास्वपाको बन्द सत्र आजका लागि स्थगित
वि.सं.२०८३ असार ८ सोमवार १७:५३
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार तय गरिएको बन्द सत्र स्थगित भएको छ ।
महाधिवेशन प्रतिनिधिमा भएको थपघट तथा मधेश प्रदेशसँग सम्बन्धित विवादका कारण बन्द सत्र निर्धारित समयमै सुरु हुन नसकेको हो ।
पार्टी स्रोतका अनुसार बन्द सत्र स्थगित गरेर देखिएका विवादित विषयहरू समाधान गर्न आवश्यक गृहकार्य अघि बढाइएको छ । नेतृत्व तहमा छलफल गरी सहमतिका आधारमा समस्याहरू टुंग्याउने प्रयास भइरहेको बताइएको छ ।
बन्द सत्रमा सहभागी हुन देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरू बिहानैदेखि कार्यक्रमस्थलमा उपस्थित भए पनि दिनभरको प्रतीक्षापछि सत्र स्थगित भएको जानकारी दिइएको थियो ।
रास्वपाले आन्तरिक विवाद समाधान गरेपछि बन्द सत्रको नयाँ मिति र समय तय गर्ने जनाएको छ । महाधिवेशनका महत्वपूर्ण एजेन्डामाथि छलफल गर्नुअघि प्रतिनिधि व्यवस्थापन र प्रदेशस्तरीय विवाद मिलाउन पार्टी नेतृत्व सक्रिय भएको छ ।




























