कोशी प्रदेश प्रहरी प्रमुखद्वारा कोशी प्रदेश प्रहरी गण, विराटनगरको निरीक्षण

884
shares

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) शेखर खनालले आज कोशी प्रदेश प्रहरी गण, विराटनगरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।

निरीक्षणका क्रममा डिआइजी खनालले कार्यालय भवन, विभिन्न शाखा, मेस, चमेनागृह, पुस्तकालय तथा ब्यारेकको अवलोकन गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिनुभयो।

उहाँले आगलागी, बाढी, पहिरो लगायतका प्राकृतिक विपद् तथा बन्द, हड्तालजस्ता संवेदनशील परिस्थितिमा तत्काल परिचालन भई नागरिकको जिउधनको सुरक्षा, शान्ति–सुरक्षा र उद्धार कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरी कर्मचारीहरू शारीरिक तथा मानसिक रूपमा सदैव तन्दुरुस्त र चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, प्रहरी परिचालनका क्रममा आवश्यक स्रोत–साधन तथा हातहतियारको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोग गर्दै प्रभावकारी कार्यसम्पादनका लागि परिचालनअघि नै प्रहरी कर्मचारीहरूलाई आवश्यक ब्रीफिङ र स्पष्ट निर्देशन दिनुपर्ने बताउनुभयो।

डिआइजी खनालले नागरिक सेवामा नेपाल प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहयोग, भाइचारा र सामूहिक भावनाका साथ जिम्मेवारी निर्वाह गर्न तथा संगठनको मर्यादा, अनुशासन र विश्वसनीयता कायम राख्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न निर्देशन दिनुभयो।


divya collage
unigloble collage