रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम चलाउने

260
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई नागरिकसँग प्रत्यक्ष जोड्ने उद्देश्यले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री असिम शाहका अनुसार कार्यक्रममार्फत मन्त्रीहरूले नागरिकका गुनासा, समस्या, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्ने व्यवस्था गरिनेछ। यसका लागि पार्टीका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यालयमा उपस्थित हुनुपर्नेछ।

कार्यक्रम दुई चरणमा सञ्चालन हुने रास्वपाले जनाएको छ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्नेछन्। नागरिकबाट प्राप्त सुझाव तथा समस्यालाई त्यसपछि हुने नेतृत्व संवादमा लैजाने तयारी गरिएको छ।

दोस्रो चरणमा मन्त्री, केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच छलफल हुनेछ। उक्त बैठकमा नागरिकबाट प्राप्त विषयसँगै समसामयिक राजनीतिक, नीतिगत तथा कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल गरी आवश्यक रणनीति तय गरिनेछ।

रास्वपाले कार्यक्रमलाई नागरिक, सरकार, संसद् र पार्टी संगठनबीच समन्वय गर्ने माध्यमका रूपमा अघि बढाउन खोजेको जनाएको छ। साथै मन्त्रीहरूलाई नागरिकप्रति थप प्रत्यक्ष जवाफदेही बनाउने र नागरिकका वास्तविक समस्याका आधारमा नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने उद्देश्य राखिएको छ।

पार्टीका अनुसार कार्यक्रमले सरकार र पार्टीबीच सूचना तथा कार्ययोजनाको आदानप्रदानलाई समेत प्रभावकारी बनाउनेछ।

 


divya collage
unigloble collage