नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
वि.सं.२०८३ भदौ १२ शुक्रवार १९:०१
shares

काठमाडौ । नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय पुगी नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले नेपाल प्रहरीलाई उक्त ड्रोन हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका ड्रोनमध्ये २ वटा म्याभिक फोर प्रो, ५ वटा एयर थ्री एस एफएमसी आरसी टु, २ वटा मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु, ६ वटा लिटो वान प्लस एफएमसी आर थ्री तथा २ वटा लिटो एक्स वान एफएमसी आर टु रहेका छन्।
ड्रोन हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछाने तथा वरिष्ठ प्रहरी उपरीक्षक दामोदर कंडेलको उपस्थिति रहेको थियो।
विपद्का कारण प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी, तीव्र र प्रविधिमैत्री बनाउन सर्भिलेन्स ड्रोनले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको चेम्बरले जनाएको छ। कठिन भौगोलिक अवस्था तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्थाको पहिचान तथा उद्धार कार्यको समन्वयमा सहयोग पुग्ने विश्वास लिइएको छ।



















