सिद्धार्थनगर नगरपालिकाको न्यायिक शाखाले मेलमिलापकर्ताहरूलाई दियो पर्वको शुभकामना
उपप्रमुख उमा अधिकारीले चाडपर्वले हाम्रो संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्ने काम गर्ने बताइन्।
वि.सं.२०८३ असोज ३० शुक्रवार १२:२७
shares

सिद्धार्थनगर, रुपन्देही, ३० असोज: सिद्धार्थनगर नगरपालिकाको न्यायिक शाखाको आयोजनामा विजया दशमी, शुभ दिपावली, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा मेलमिलाप कर्ताहरूलाई शुभकामना दिने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, मेलमिलापकर्ता तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन केशव प्रसाद पौडेलले गरेका थिए। स्थानीय तहमा विवाद समाधान र मेलमिलापमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका मेलमिलापकर्ताहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रममा पर्वको शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा अधिकारीले चाडपर्वले हाम्रो संस्कृति, परम्परा र सामाजिक एकतालाई जीवन्त राख्ने काम गर्ने बताइन्।
महिला, बालबालिकालगायत सबै वर्गका नागरिकको सहभागितामै नगरको समृद्धि सम्भव हुने उनको धारणा थियो।प्रमुख प्रशासकीय अधिकृत बिपिन क्षेत्रीले नगरपालिका नागरिकलाई छिटो, छरितो र पारदर्शी सेवा दिन प्रतिबद्ध रहेको बताए।
जनप्रतिनिधि र कर्मचारीबीचको राम्रो समन्वयले सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।कार्यक्रममा नगरपालिकाको नारा “कृषि, स्वास्थ्य, पर्यटन, उद्योग, व्यापार र शिक्षाः हराभरा बुद्ध भूमि सिद्धार्थनगरको ईच्छा” लाई पनि दोहोर्याइएको थियो। बुद्धको जन्मभूमि लुम्बिनी नजिकै रहेको सिद्धार्थनगरलाई कृषि, पर्यटन, उद्योग र शिक्षाको क्षेत्रमा नमुना नगर बनाउने साझा सङ्कल्प व्यक्त गरियो। वक्ताहरूले विजया दशमीले असत्यमाथि सत्यको विजय, दिपावलीले अन्धकारबाट उज्यालोतर्फको यात्रा, छठले प्रकृति र सूर्यप्रतिको आस्था तथा नेपाल संवत्ले मौलिक संस्कृतिको गौरव झल्काउने बताए। उनीहरूले सबै नगरवासीलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढ्न आह्वान गरे। कार्यक्रमको अन्त्यमा न्यायिक शाखा तथा नगरपालिकाले सम्पूर्ण मेलमिलापकर्ता, नगरवासी, सञ्चारकर्मी तथा शुभचिन्तकलाई पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ।


























