घरजग्गा र निर्माण व्यवसायमा नयाँ उत्साह जगाउने तयारी, भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो –२०२६’ आयोजना
६० भन्दा बढी स्टल, २५ हजार अवलोकनकर्ताको अपेक्षा : भरतपुरमा बिल्ड नेपाल एक्स्पो हुँदै
वि.सं.२०८३ मंसिर ६ आइतवार १५:२१
shares

चितवन । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुनेछ।
नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्रमा देखिएको मन्दीलाई चिर्दै नयाँ लगानी र व्यावसायिक अवसर सिर्जना गर्न एक्स्पोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन, सुरक्षित तथा गुणस्तरीय आवास निर्माण र घरजग्गा व्यवसायलाई पुनः लयमा फर्काउन एक्स्पो उपयोगी हुने बताएका छन्।
एक्स्पोमा आधुनिक घर निर्माण सामग्री, निर्माण प्रविधि, आवास तथा घरजग्गा परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन्। साथै भवन संहिता, सरकारी मापदण्ड, निर्माण गुणस्तर र सुरक्षासम्बन्धी जानकारी तथा प्राविधिक परामर्शसमेत उपलब्ध गराइनेछ।
तीनदिने एक्स्पोमा ६० भन्दा बढी प्रदर्शनी स्टल रहने र करिब २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ भने इच्छुक प्रदर्शकका लागि स्टल बुकिङ खुला गरिएको छ।
आयोजकका अनुसार एक्स्पोले चितवनलाई केन्द्र बनाएर देशभर लगानीको वातावरण विस्तार गर्ने, स्वदेशी उद्यमशीलतालाई प्रोत्साहन गर्ने र विदेशमा सीप तथा अनुभव हासिल गरेका युवालाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ।
‘बिल्ड नेपाल एक्स्पो–२०२६’ घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नभई आधुनिक निर्माण प्रविधि, सुरक्षित आवास, स्वदेशी लगानी र आर्थिक समृद्धिको सम्भावनालाई एउटै मञ्चमा जोड्ने महत्त्वपूर्ण अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।


















