कांग्रेस नेता शिवकुमार कटवाललाई महत्वपूर्ण जिम्मेवारी, प्रशासन तथा व्यवस्थापन केन्द्रको अध्यक्षमा मनोनयन

3K
shares

काठमाडौं । नेपाली कांग्रेसले उदयपुरका नेता शिवकुमार कटवाललाई पार्टीको प्रशासन, व्यवस्थापन तथा विकास केन्द्रको अध्यक्षमा मनोनयन गरेको छ। नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका कटवाललाई पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार उक्त जिम्मेवारी प्रदान गरिएको हो।

पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्षमा मनोनयन गरिएको हो। १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमार्फत कटवाललाई औपचारिक जिम्मेवारी दिइएको जनाइएको छ।

नवनियुक्त अध्यक्ष कटवाललाई पार्टीका स्थापित मूल्य, मान्यता र संगठनात्मक उद्देश्यअनुरूप केन्द्रको कामलाई अघि बढाउने जिम्मेवारी दिइएको छ। साथै, छ महिनाभित्र केन्द्रको महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्वसमेत उनलाई सुम्पिएको छ।

उदयपुरको राजनीतिमा सक्रिय कटवाललाई पार्टीले दिएको यो जिम्मेवारीलाई संगठनात्मक सुदृढीकरण, प्रशासनिक व्यवस्थापन तथा संस्थागत विकाससँग जोडेर हेरिएको छ।
केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका कटवालले नयाँ जिम्मेवारी पाएसँगै उनको पार्टीभित्रको संगठनात्मक भूमिका थप महत्वपूर्ण बनेको छ। केन्द्रलाई व्यवस्थित, सक्रिय र परिणाममुखी बनाउने चुनौती अब उनको काँधमा आएको छ।