भिआइपीकाे कनेक्सनमा कैलाली प्रहरी, सानालाई ऐन, ठूलालाई चैन

10.35K
shares

धनगढी : कैलालीमा अघिल्लो शनिबार बा १ झ ९२५० नम्बरको सरकारी गाडीले एउटा मोटरसाइकललाई ठक्कर दियो।

जिल्ला प्रशासन कार्यालय बझाङको गाडी काण्ड : अझै झुट बोल्छन् सहायक सिडिओ, गाडी चलाउने सभामुखका छोरालाई भएन कारबाही

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा बा ३२ प ६४५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि चालक बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३३ वर्षीय सिद्ध जयगढी घाइते भए। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरियो।

जयगढीको अहिले पनि नेपालगञ्जमै उपचार भइरहेको छ। दुर्घटना लगत्तै सरकारी गाडी घटनास्थलमै छोडेर चालक लगायत अन्य सवार भागेका थिए। इलाका प्रहरी कार्यालय लम्कीले उक्त गाडी नियन्त्रणमा लिएर अनुसन्धान ग¥यो। मोटरसाइकललाई ठक्कर दिने उक्त गाडी जिल्ला प्रशासन कार्यालय बझाङको रहेको खुल्यो। गाडीमा चालक बाहेक अरु को सवार थिए भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले अझै खुलाएको छैन।

चालकको नाम समेत लुकाइएको छ। समाचार स्रोतले भन्यो, ‘बझाङका सहायक प्रमुख जिल्ला अधिकारी र अनुसन्धानका डीएसपी पनि जिल्ला प्रशासन कार्यालयको गाडीमा सवार थिए। उनीहरु चिसापानी घुम्न गएका थिए।’ अनुसन्धानका डिएसपी देवेन्द्र थापा सुदूरपश्चिमका सभामुख अर्जुन थापाका छोरा हुन्। स्रोतका अनुसार उनले नै गाडी चलाएका थिए।

प्रहरीले दुर्घटना भएको एक साता भइसक्दा समेत चालकलाई पक्राउ गरेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्ष एकआपसमा समझदारी गरेर गएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले घाइतेको उपचारका लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने सहमति भएको बताए।

************************************

१७ साउनमा धनगढीमा सुदूरपश्चिम प्रदेशसभाकी सदस्य अम्बिका थापाको मोटरसाइकल दुर्घटना भयो। दुर्घटनामा घाइते भएकी उनको सुरुमा माया मेट्रो अस्पताल धनगढीमै उपचार भयो। साढे ४ बजे दुर्घटना भएकोमा ६ बजे मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका अन्य मन्त्री र प्रदेशसभा सदस्यहरु अस्पतालमा पुगे।

टाउकोमा चोट लागेको भन्दै सोही राति १० बजे स्काई ट्रक मार्फत उनलाई काठमाडौँ लगियो। धनगढी उपमहानगरपालिका वडा नम्वर ७ मोतीचौक बस्ने २८ वर्षीय लोकबहादुर बोहराले चलाएको मोटरसाइकलले थापा सवार मोटरसाइकललाई ठक्कर दिएको आरोप लाग्यो।

सोही आशंकामा बोहरालाई कैलाली प्रहरीले पक्राउ ग¥यो। ‘प्रदेश सासंद थापा पक्षले सम्पूर्ण उपचार खर्चसँगै स्काई ट्रकको भाडा समेत दिनुपर्ने अडान राखेका थिए,’ बोहराका बुवा मेयरसिंह बोहराले भने, ‘हामी गरिवले स्काई ट्रकको भाडा कसरी तिर्न सक्थे। हामीले स्काई ट्रकमा लैजानु पनि भनेका थिएनौँ। अहिले सम्पूर्ण उपचार खर्च बेहोर्ने सहमति भएको छ।’

उनले प्रदेश सासंद थापाको उपचारका लागि ४७ हजार पठाइसकेको बताए। ‘फेरि हिजोदेखि उपचार खर्च माग्नका लागि फोन आउन थालिसकेको छ। अझै लाखौँ रकम खर्च हुने भनिएको छ। कसरी जोहो गर्ने होला?’ बोहराले भने।

********************************************

माथि उल्लेखित दुवै सवारी दुर्घटना हुन्। जिल्ला प्रशासन कार्यालय बझाङको गाडीले मोटरसाइकल चालकलाई ठक्कर दिएर गम्भीर घाइते बनाउँदा सरकारी गाडीका चालक पक्राउ पनि परेनन्। जिल्ला प्रहरी कार्यालयले उक्त गाडीमा सवार को थिए र चालक को थिए भन्ने बारेमा नाम समेत खुलाएन।

तर सासंद सवार मोटरसाईकलसँग ठोक्किँदा चालकको रातारात खोजी भयो। प्रहरी नायव उपरीक्षक प्रतिक विष्ट आफै अस्पताल पुगे। दुर्घटनाको दोस्रो दिन मोटरसाइकल चालक बोहरालाई पक्राउ गरियो। यसले कैलाली प्रहरीको विभेद पनि छर्लङ्ग भएको छ। ‘सरकारी गाडी चलाएर ठक्कर दिएर घाईते बनाउँदा समेत पक्राउ नपर्ने सर्वसाधारणको गाडी दुर्घटना भए कारवाही हुने। कैलाली प्रहरीको यो रवैया ठिक लागेन्।’ एक जना गाडी चालकले भने।

‘माननीय ज्यू सवार गाडीका चालक र मेरो छोरा मोटरसाइकलबाट खसेका पनि थिएनन्। मोटरसाइकल पनि ढलेको थिएन। उहाँ कसरी लड्नु भयो थाहा भएन। अहिले लाखौँ तिर्नपर्ने भएको छ’, बोहराका बुवा मेयर सिंहले भने। यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने दुवै पक्षको उपस्थितिमा सबै सहमति भएको जनाएको छ। दिनेश खवरमा समाचार छ ।