एक ढिक्का भएर निर्वाचनको तयारीमा लाग्न नेकपाको आह्वान

10.62K
shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले सम्पूर्ण पार्टी पङ्क्तिलाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ परिचालित हुन आह्वान गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधिसभा विघटन भई आगामी २०७८ साल वैशाखमा निर्वाचनको मिति घोषणा र मुलुक निर्वाचनोन्मुख भइसकेका परिप्रेक्ष्यमा मातहतका सबै कमिटी, जनवर्गीय र सरोकार सङ्गठन, पार्टी सदस्य र जनप्रतिनिधिलाई उक्त आह्वान गरेको हो ।

बैठकले राज्यका सबै अङ्गलाई शान्तिसुरक्षा, अमनचयन र सुशासनका क्षेत्रमा पूर्ववत् र अझ प्रभावकारी काम गर्न आह्वान गर्दै शान्ति, स्थायित्व र लोकतान्त्रिक प्रणालीलाई कमजोर गर्ने कुनै पनि कदमप्रति सजग हुन आह्वान गर्ने प्रस्ताव पनि पारित गरेकोे नेकपा केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष ओलीले यही पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयमा पार्टीका केही नेताबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षड्यन्त्र चिर्न तथा जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको बाध्यात्मक कदमका रुपमा ग्रहण गर्ने प्रस्ताव पारित भएको छ ।

“जननिर्वाचित सरकारलाई कामै गर्न नदिने, मुलुकको नेतृत्व गर्न प्राप्त ऐतिहासिक अवसरलाई आत्मसात् नै गर्न नचाहने र अवसरवादी एवं स्वार्थकेन्द्रित गठबन्धनका बलमा मुलुकलाई अगाडि बढ्नै नदिने क्रियाकलाप लोकतन्त्रको मूल्यमान्यता विपरीत, जनआकाङ्क्षाविपरीत तथा मुलुकलाई अन्त्यहीन अस्थिरतातिर धकेल्ने केही नेताहरुको क्रियाकलापकै कारण यो स्थिति उत्पन्न भएको ठहर गर्दछ ।

नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको कुरा स्पष्ट गरेको छ ”, पारित प्रस्तावमा भनिएको छ, “त्यसैले सदनमा बहुमत प्राप्त दलबाट सर्वसम्मतरुपमा निर्वाचित दलको नेता र त्यसै हैसियतमा निर्वाचित प्रधानमन्त्रीले ताजा जनादेशको माग गर्नु र सबै विषयको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम रहेको ठहर गर्दछ ।”

लोकतन्त्र कमजोर नहुने

बैठकले सबै राजनीतिक दललाई आमनिर्वाचनको अभियानमा स्वस्थ बहस र प्रतिस्पर्धाका साथ सहभागी भई लोकतान्त्रिक प्रणालीलाई सुदुढ गर्न आह्वान गर्दै राज्यका सबै संस्था, निजामती र सुरक्षा अङ्ग, प्रदेश सरकार र प्रदेशसभा एवं स्थानीय तह आआफ्ना क्षेत्रमा कर्तव्य निर्वाह गर्दै क्रियाशील भइरहेको तथा जनतामा उन्नत लोकतान्त्रिक चेतना रहेको परिवेशमा लोकतान्त्रिक प्रणाली कमजोर हुन्छ कि भन्ने कुनै पनि आशङ्का निराधार रहेकामा विश्वस्त हुन आग्रह गरेको छ । “परिवर्तनका पक्षधर सबै वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आपसी संवाद, समझदारी कायम गर्दै अगाडि बढ्न आग्रह गर्दछ । हाम्रो पार्टी र सरकार नेपालको संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनका उपलब्धिको रक्षा एवं विकासका लागि कृतसङ्कल्पित रहेको विश्वास दिलाउन चाहन्छ”, पारित प्रस्तावमा भनिएको छ ।

पार्टीलाई नयाँ गति दिइने

बैठकले २०७५ साल जेठ ३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकृत भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी र अन्य नेतृत्वदायी कमिटीको मूल दायित्व दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गरी निर्वाचित कमिटीलाई नेतृत्व हस्तान्तरण गर्नु रहेकामा ‘केही नेताका पदीय आकाङ्क्षा र स्वार्थकेन्द्रित गतिविधिका कारण कमिटीले उक्त दायित्व पूरा गर्न नसकेका पृष्ठभूमिमा’ पार्टीका प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटी विस्तार गरी पार्टीमा नयाँ गति र जीवन दिन गर्नुभएको कमिटी विस्तारलाई अनुमोदन गरेको छ ।

बैठकले करीब तीन वर्षका अवधिमा दूरगामी महत्वका विकास कार्य, रणनीतिक पूर्वाधारको निर्माण, सामाजिक न्याय र सुरक्षाको विस्तार, संविधान एवं सङ्घीयताको कार्यान्वयन, राष्ट्रियताको सुदृढीकरण एवं नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा सरकारले गरेका महत्वपूर्ण कामलाई उच्च मूल्याङ्कन गर्दै ती कार्यलाई जनताबीच स्थापित गर्ने, शुरु भएका कामलाई सफल पार्ने र थप जनपक्षीय कार्य गर्दै पार्टी र पार्टी नेतृत्वको सरकारलाई सामाजिक आर्थिक रुपान्तरणको नायकका रुपमा स्थापित गर्ने सङ्कल्प गरेको छ ।

सीमा समस्या समाधानमा थप पहल गर्न आग्रह

बैठकले नेपालको वास्तविक भूभाग समेटेर नयाँ प्रशासनिक–राजनीतिक नक्शा प्रकाशन गरेको र त्यसलाई संविधानको अनुसूचीमा रहेको निशान छापमा प्रतिविम्बन गर्न अभूतपूर्व राष्ट्रिय एकता कायम गर्दै संविधान संशोधन गर्न सफल भएकामा प्रधानमन्त्री र नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै नेपालको भूभागमा नेपालको स्वामित्व सुनिश्चित हुने गरी सीमा समस्याको समाधान गर्न थप प्रभावकारी कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेको छ ।

बैठकले नेपालको विकास र समृद्धिमा छिमेकीलगायत सबै मित्र राष्ट्रबाट प्राप्त निरन्तरको सद्भाव र सहयोगका लागि कृतज्ञता ज्ञापन गर्दै नेपाल राजनीतिक स्थायित्व, सामाजिक आर्थिक रुपान्तरण र समृद्धिका दिशामा अविचलित ढङ्गले अगाडि बढ्ने र मित्र राष्ट्रबाट आगामी दिनमा पनि नेपालप्रति यस्तै सद्भाव र सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरेको छ ।

तेजाब आक्रमण ः जघन्य अपराध

बैठकले तेजाब आक्रमण जस्तो जघन्य अपराध एवं महिलामाथि हुने यौनजन्य हिंसा र बलात्कारको रोकथाम तथा त्यस्ता अपराधमा संलग्न दोषीलाई कडा कारवाही गर्न सरकारले हालै जारी गरेका अध्यादेशको समर्थन गर्दै यस्ता क्रियाकलाप रोकथामका लागि प्रशासनलाई थप कडाइ गर्न आह्वान गरेको छ ।

बैठकले हालै सम्पन्न निर्वाचनमा नेपाल संयुक्त राष्ट्र सङ्घको मानवअधिकार परिषद्मा पुनःनिर्वाचित भएकामा खुशी तथा सन्तोष व्यक्त गरेको छ भने महिलामाथि हुने विभेद उन्मूलनसम्बन्धी कमिटी (सिड कमिटी) मा नेपालका तर्फबाट प्रस्तुत उम्मेदवार दोस्रो पटक उच्च मतका साथ निर्वाचित भएकामा बधाई ज्ञापन गरेकोे छ ।

बैठकले कोभिड–१९ सङ्क्रमणका कारण ज्यान गुमाउने सबैमा श्रद्धाञ्जलि अर्पण गर्दै उपचार गराइरहनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले यसबीचमा दिवङ्गत नेता तथा कार्यकर्ताप्रति श्रद्धाञ्जलि पनि व्यक्त गरेको छ ।

उखु किसानको भुक्तानी देऊ

बैठकले चिनी उद्योगलाई उखु बिक्री गरेवापत प्राप्त गर्नुपर्ने बक्यौता रकम प्राप्त गर्न तराई– मधेशका विभिन्न जिल्लाबाट काठमाडौँ आई शान्तिपूर्ण धर्नामा बस्नुभएका उखु किसानको सबै रकम उद्योगीबाट अविलम्ब चुक्ता गराउने प्रबन्धका लागि सरकारलाई थप प्रभावकारी पहल गर्न माग गरेको छ ।

चार पत्रकार पुरस्कृत
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील तथा कोरोना कहरमा पनि सक्रियरुपमा काम गर्ने पत्रकार तथा सञ्चार गृहलाई आज यहाँ सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ नुवाकोटको १०औंँ साधारणसभाका अवसरमा पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको हो ।

कार्यक्रममा त्रिशूली प्रवाह साप्ताहिका प्रकाशक एवम् सम्पादक शरणउत्सुक सापकोटालाई दीर्घसेवा सम्मान र अर्थपथडटकमका सम्पादक विष्णु तारुकेलाई मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, सगरमाथा पोष्ट डटकमका सम्पादक रवीनप्रसाद थपलियालाई रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र बिबिसी नेपाली सेवाका संवाददाता शक्तिमाया तामाङलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

पछिल्लो तीन वर्षदेखि उल्लिखित सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको तथा सम्मानितका लागि राशि जनही रु ११ हजार १११ प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा महासङ्घले कोरोनाका समयमा पनि सक्रियतापूर्वक काम गर्ने १७ पत्रकार तथा सञ्चारगृहलाई प्रशंसापत्रसमेत प्रदान गरेको छ ।

सम्मान तथा पुरस्कार प्रदान गर्दै पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले कोरोनामा समयमा नेपालका पत्रकारले सक्रियतापूर्वक गरेको कामलाई अन्तरराष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको बताउनुभयो ।

कार्यक्रममा महासङ्घका केन्द्रीय सचिव रामप्रसाद दाहाल, विद्ुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाललगायतले सञ्चार क्षेत्रका बारेमा आआफ्ना धारणा राख्नु भएको थियो ।

गीता जयन्ती
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदैछ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार १२८ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धको समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाईं गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको हो”, उहाँले भन्नुभयो ।

चार वेदका एक हजार १३१ शाखामध्ये हाल १२ वटामात्र अस्तित्वमा रही अरु लोप भएजस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक फाउन्डेसनका अध्यक्ष कुमार अधिकारीले बताउनुभयो ।

कोरोना महामारीका कारण यस वर्ष विगतमा जसरी धेरै मानिस भेला पारेर कार्यक्रम गर्न नसके पनि प्रवचनलगायत कार्यक्रम विभिन्न सञ्चारमाध्यममार्फत् गर्न लागिएको जनाइएको छ ।

“ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका १०१ शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखामात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले पनि यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन शुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

फाउन्डेसनले सात वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाउँदै आएको छ, यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैगरी विश्व हिन्दू महासङ्घले पनि गीता जयन्तीकै अवसरमा शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठलगायत कार्यक्रमसमेत गरिने जनाइएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083