ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भएको छ । संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर डेमोक्र्याटहरूले अभियोग लगाउने तयारी गरेका हुन् ।

बीबीसीका अनुसार ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा छिटोमा मङ्गलवारसम्म मतदान हुनसक्नेछ । संसदीय दलका सचेतक जेम्स क्लाइबर्नले सीएनएनसँग उक्त कदम यो साता उठाउन सकिने बताए।

ट्रम्पकै दलका नेताद्वारा पदत्यागको आग्रह
यदि उनलाई दोषी ठहर्‍याइयो भने ट्रम्पलाई फेरि सार्वजनिक कार्यालयको जिम्मेवारीमा रोक लगाउन सिनेटले पनि मतदान गर्नसक्छ। तर तल्लो सदनका सांसद क्लाइबर्नले १० दिनमा ट्रम्पले राष्ट्रपति कार्यालय छोड्नुअघि उनलाई महाभियोग लगाउन र सुनुवाइ गर्न आफूले सम्भव नदेखेको बताए।

डेमोक्र्याट र बढ्दो सङ्ख्यामा देखिएका रिपब्लिकनहरूले ट्रम्पमाथि पाँच जनाको ज्यान गएको गत बुधवार संसद्‌मा भएको हिंसालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। तर कुनै पनि रिपब्लिकन सिनेटरले ट्रम्पलाई दोषी ठहर्‍याउने पक्षमा मतदान गर्ने बताएका छैनन्।

दोस्रो रिपब्लिकन सिनेटर प्याट टूमीले राष्ट्रपति ट्रम्पलाई राजीनामा दिन आइतवार आग्रह गरे।

उनले भने, ‘मेरो विचारमा देशका निम्ति उत्तम बाटो भनेको राष्ट्रपतिले राजीनामा दिने र जतिसक्दो चाँडो टाढा जाने नै हो। म त्यो सम्भावना नरहेको स्वीकार गर्छु तर मलाई लाग्छ सबैभन्दा राम्रो त्यहीँ हुन्थ्यो।’ अलास्काकी सिनेटर लिसा मर्कावस्की राष्ट्रपतिलाई पद त्याग गर्न आग्रह गर्ने पहिलो रिपब्लिकन सिनेटर हुन्।  बीबीसी

२७ पुस २०७७, सोमवार १०:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु