क्रान्ति पछि बंगलादेशमा पुरानो दलको पुनरागमन
वि.सं.२०८२ फागुन १ शुक्रवार १५:३३
shares

काठमाडौं, १ फागुन।बंगलादेशको आम निर्वाचनले देशको राजनीतिक दिशानै मोडिने संकेत दिएको छ। बिहीबार सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक नतिजाअनुसार बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गर्दै सत्ता पुनरागमनको आधार तयार गरेको छ।
३०० सदस्यीय संसद् मध्ये २९९ सिटमा भएको मतदानमा हालसम्म २०६ सिटको नतिजा सार्वजनिक हुँदा बीएनपीले १६५ सिट जितेको छ। एक उम्मेदवारको मृत्यु भएपछि शेरपुर–३ क्षेत्रमा मतदान स्थगित गरिएको हो। नतिजाबारे ढाका ट्रिब्युन ले विस्तृत विवरण सार्वजनिक गरेको छ।
यससँगै पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया का छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना प्रबल बनेको छ। दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका रहमान दुवै स्थानमा विजयी भएका छन्। उनी लामो समय निर्वासनमा रहेपछि गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।
अन्य दलको कमजोर उपस्थिति
जमात–ए–इस्लामीको नेतृत्वमा बनेको ११ दलीय गठबन्धनले हालसम्म ४५ सिटमा मात्र जित हासिल गरेको छ। जमात प्रमुख शफीकुर रहमान ढाका–१५ बाट विजयी भएका छन्। अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारको भागमा जम्मा ३ सिट परेको छ।
बीएनपीको सशक्त पुनरागमन
करिब दुई दशकदेखि सत्ता बाहिर रहेको बीएनपीले यो निर्वाचनलाई ऐतिहासिक पुनरागमनका रूपमा लिएको छ। पार्टी नेतृत्वले अन्तिम नतिजामा दुई तिहाइभन्दा बढी बहुमत पुग्ने अपेक्षा व्यक्त गरेको छ। मत परिणामपछि तारिक रहमानले कानून–व्यवस्था सुधार र स्थायित्व कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्।
शेख हसिनाको कडा प्रतिक्रिया
निर्वाचनप्रति असन्तुष्टि जनाउँदै पूर्व प्रधानमन्त्री शेख हसिना ले यसलाई ‘फर्जी र असंवैधानिक’ भन्दै अस्वीकार गरेकी छन्। जुलाई २०२४ को विद्यार्थी आन्दोलनपछि भारतमा रहेकी हसिनाले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस ले गैरकानुनी रूपमा सत्ता सम्हालेर चुनाव गराएको आरोप लगाएकी छन्।
उक्त आन्दोलनपछि सत्तारूढ अवामी लिगमाथि प्रतिबन्ध लगाइएकाले पार्टीले यस निर्वाचनमा सहभागिता जनाउन पाएन।
















