७ महिनामा राजस्व लक्ष्यको ८२ प्रतिशत मात्र प्राप्त
वि.सं.२०८२ फागुन १ शुक्रवार १६:०१
shares

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्म सरकारले निर्धारण गरेको राजस्व लक्ष्यको करिब ८२ प्रतिशत मात्रै संकलन गर्न सकेको छ। अर्थ मन्त्रालयका अनुसार सात महिनाको अवधिमा ८ खर्ब १३ अर्ब ६३ करोड उठाउने लक्ष्य रहेकामा ६ खर्ब ६९ अर्ब ३२ करोड मात्र संकलन भएको छ।
गत आर्थिक वर्षको यही अवधिसँग तुलना गर्दा कुल राजस्व संकलनमा २.८३ प्रतिशतको सामान्य वृद्धि देखिए पनि लक्ष्यअनुसारको उपलब्धि भने कमजोर छ। अघिल्लो वर्ष माघ मसान्तसम्म ६ खर्ब ५० अर्ब राजस्व उठेको थियो।
मुख्य राजस्व स्रोतहरू नै लक्ष्यभन्दा तल रहेपछि समग्र आम्दानी प्रभावित भएको मन्त्रालयको विश्लेषण छ। भन्सार महसुलतर्फ १ खर्ब ७० अर्ब ५० करोड उठाउने लक्ष्य रहेकामा १ खर्ब ३५ अर्ब ३२ करोड मात्रै संकलन भएको छ, जुन लक्ष्यको करिब ७९ प्रतिशत हो।
मूल्य अभिवृद्धि कर (भ्याट) र अन्त:शुल्क अपेक्षाकृत सन्तोषजनक देखिएका छन्। भ्याटतर्फ २ खर्ब १७ अर्बको लक्ष्य रहेकामा १ खर्ब ९६ अर्ब ४४ करोड उठेको छ, जसले लक्ष्यको करिब ९० प्रतिशत पुर्याएको छ। अन्त:शुल्कतर्फ १ खर्ब १५ अर्बको लक्ष्यमध्ये १ खर्ब ५ अर्ब संकलन भएको छ, अर्थात् ९० प्रतिशतभन्दा बढी उपलब्धि।
तर आयकर संकलन अपेक्षाभन्दा कमजोर देखिएको छ। २ खर्ब २० अर्ब उठाउने लक्ष्य राखिएको आयकर शीर्षकमा १ खर्ब ५८ अर्ब ६६ करोड मात्रै संकलन भएको छ, जुन लक्ष्यको करिब ७२ प्रतिशत हो७ महिनामा राजस्व लक्ष्यको ८२ प्रतिशत मात्र प्राप्त
विभागीय विवरणअनुसार भन्सार विभागले लक्ष्यको ८३.८४ प्रतिशत राजस्व उठाएको छ भने आन्तरिक राजस्व विभागले ८१.३६ प्रतिशत मात्रै संकलन गर्न सकेको छ। कुनै पनि निकायले पूर्ण लक्ष्य भेट्न सकेका छैनन्।
गत वर्षको तुलनामा आयकरमा ०.८१ प्रतिशत गिरावट आएको छ। तर अन्त:शुल्क १०.८८ प्रतिशत, भ्याट ७.५८ प्रतिशत र भन्सार महसुल ७.५३ प्रतिशतले बढेका छन्।
राजस्व संकलन लक्ष्यभन्दा तल रहँदा बजेट कार्यान्वयन र विकास खर्चमा समेत दबाब पर्ने संकेत देखिएको छ। आर्थिक गतिविधि, आयातको अवस्था र कर प्रशासनको प्रभावकारिताले आगामी महिनाहरूको राजस्व प्रवृत्तिमा निर्णायक भूमिका खेल्ने अर्थ मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
















