चुनावी प्रचारका लागि ४ दल र ४५४ उम्मेदवारले मात्रै बैंक खाता खोले

1.52K
shares

काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनाव प्रचारप्रसारका लागि अनिवार्य रूपमा खोल्नुपर्ने बैंक खाताको पालनामा भने राजनीतिक दल र उम्मेदवारको सक्रियता न्यून देखिएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म ४ राजनीतिक दल र ४ सय ५४ उम्मेदवारले मात्रै प्रचार खर्चका लागि छुट्टै बैंक खाता सञ्चालन गरेका छन्।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ६५ दल र ३ हजार ४०६ उम्मेदवार सहभागी छन्। तीमध्ये अधिकांशले अझै आयोगको निर्देशनअनुसार बैंक खाता नखोलेको पाइएको छ।

निर्वाचन आयोगका सहसचिव तथा कानुन एवं राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराई का अनुसार शुक्रबारसम्म न्यून संख्यामा मात्रै दल र उम्मेदवारले बैंक खाता खोलेका हुन्। उनका अनुसार प्रचार खर्च पारदर्शी बनाउन आयोगले अनिवार्य रूपमा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था लागू गरेको छ।

हालसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (संयुक्त) र राष्ट्रिय जनमोर्चा रहेका छन्।

आयोगले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ कार्यान्वयनमा ल्याएर प्रत्येक दल र उम्मेदवारले प्रचार खर्चका लागि अलग बैंक खाता खोल्नुपर्ने प्रावधान लागू गरेको हो।

प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवारमध्ये ३ हजार १७ पुरुष, ३८८ महिला र १ जना अन्य लिङ्गका उम्मेदवार रहेका छन्।

यस्तै, निर्वाचन घोषणापत्र बुझाउने प्रक्रियामा पनि सक्रियता न्यून देखिएको छ। आयोगका अनुसार हालसम्म राष्ट्रिय जनमोर्चा, संयुक्त नागरिक पार्टी र समावेशी समाजवादी पार्टी ले मात्रै आफ्नो चुनावी घोषणापत्र बुझाएका छन्।

निर्वाचन आयोगले पारदर्शी र व्यवस्थित प्रचार अभियान सुनिश्चित गर्न दल र उम्मेदवारलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083