रुकुमपूर्वबाट चीनको सीमासम्म पिच सडक बनाउने सपना छ: प्रचण्ड

2.51K
shares

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पूर्वलाई चीनको सीमासम्म पिच सडकले जोड्ने आफ्नो दीर्घकालीन सपना रहेको बताएका छन्।

उत्तरगंगा गाउँपालिका–१ मैकोटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दाङ हुँदै आएको ‘शहीद मार्ग’लाई सहरतारा हुँदै चीनको सिमानासम्म विस्तार गरी कालोपत्रे गर्ने योजना सुनाए। यसबाट मैकोटलगायत क्षेत्र पर्यटनका हिसाबले विकास हुने विश्वास उनले व्यक्त गरे।

सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट मारिएकाहरूको सम्झनामा ‘शहीद मार्ग’ निर्माण सुरु गरिएको उल्लेख गर्दै उनले यो मार्ग आफूले प्रस्ताव गरेको बताए। जनयुद्धकै समयमा दक्षिणदेखि उत्तरसम्म शहीदहरूको नाममा मार्ग बनाउने अवधारणा ल्याइएको र जनताले स्वेच्छिक रूपमा निर्माण थालेको उनको भनाइ थियो।

शान्ति प्रक्रियापछि सरकारमा पुगेपछि उक्त मार्गलाई राज्यको प्राथमिकतामा राखिएको उनले बताए। अहिले राज्यकै योजनाअनुसार काम भइरहेको र अब यसलाई पिच गरी आवागमन सहज बनाउने लक्ष्य रहेको उनले बताए।

प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव अघि सारेको र त्यसका लागि बजेटसमेत विनियोजन गरिएको स्मरण गरे।

उनको टोली गाउँपालिकाको केन्द्र तकसेरा, बिर्गुम, पिपलतुङ, खैरे (नयाँ बजार), डिम्मुर गहिरा (तातोपानी), मयाङ, हुकाम हुँदै मैकोट पुगेको छ। टोली सोमबार कोल, गोलखाडा, राङ्सी, नाखाँ, जामाबगर हुँदै सिस्ने गाउँपालिका–२ नायगाड पुग्ने कार्यक्रम रहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083