स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रशासनिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2.44K
shares

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयाेजित शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रशासनिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बानेश्वर बहुमुखी क्याम्पसको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि तथा अध्ययन–अध्यापन प्रक्रियालाई थप प्रभावकारी, व्यावहारिक र व्यवस्थित बनाउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे।

कार्यक्रममा स्ववियु अध्यक्ष भुमिराज अधिकारीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रूपमा क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि डा. खड्काले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, नियमित कक्षा सञ्चालन, अनुसन्धानमुखी शिक्षण पद्धति, प्रशासनिक पारदर्शिता तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थी, शिक्षक र प्रशासनबीच समन्वय र सहकार्य सुदृढ हुन आवश्यक रहेको उल्लेख गर्दै सकारात्मक सुझावहरू कार्यान्वयनतर्फ लैजान प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्ववियु अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थी केन्द्रित शिक्षा प्रणालीको आवश्यकता औंल्याउँदै कक्षा व्यवस्थापन, परीक्षा प्रणालीमा सुधार, पुस्तकालय तथा सूचना प्रविधि सेवाको विस्तार, विद्यार्थी मैत्री प्रशासन र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनुभयो। उहाँले स्ववियु सधैं विद्यार्थीको हक, हित र गुणस्तरीय शिक्षाका पक्षमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा विभागीय प्रमुखहरूले आ–आफ्नो विषयगत धारणा राख्दै शैक्षिक अनुशासन, पाठ्यक्रम कार्यान्वयन, अनुसन्धान तथा आन्तरिक मूल्यांकन प्रणाली सुदृढीकरणका विषयमा सुझाव प्रस्तुत गर्नुभयो। साथै क्याम्पसका प्राध्यापक, शिक्षक–शिक्षिका, कर्मचारी तथा सरोकारवालाहरूले प्रशासनिक सुधार, भौतिक पूर्वाधार विकास, प्रविधिमैत्री शिक्षण पद्धति र विद्यार्थी सेवा सुधारका विषयमा रचनात्मक धारणा राख्नुभएको थियो।

समग्रमा कार्यक्रममा क्याम्पस सुधार, शैक्षिक उन्नयन, प्रशासनिक पारदर्शिता, सेवा प्रवाह सुदृढीकरण लगायत विविध विषयमा व्यापक छलफल भएको थियो। कार्यक्रमलाई सहभागीहरूले अत्यन्तै फलदायी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्। स्ववियुले आगामी दिनहरूमा यस्ता रचनात्मक छलफललाई निरन्तरता दिँदै क्याम्पसको समग्र सुधार र विद्यार्थी केन्द्रित वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।

कार्यक्रममा स्ववियु पदाधिकारी, सदस्यहरू, विभागीय प्रमुख, प्राध्यापक, शिक्षक–शिक्षिका, कर्मचारीहरु लगाएतकाे उपस्थिति रहेको थियो।