तरिक रहमान बने बंगलादेशका प्रधानमन्त्री

1.56K
shares

तरिक रहमान बंगलादेशका नयाँ प्रधानमन्त्री बनेका छन्। राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले ढाकास्थित संसद् भवनमा उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष रहेका रहमानलाई संसदीय दलले सर्वसम्मत रूपमा नेता चयन गरेपछि प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको हो। हालै सम्पन्न संसदीय निर्वाचनमा बीएनपीले दुई तिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो।

६० वर्षीय रहमान पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा हुन्। लामो समय विदेशमा निर्वासित जीवन बिताएका उनी गत वर्ष स्वदेश फर्किएर सक्रिय राजनीतिमा पुनः प्रवेश गरेका थिए।

सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिना अपदस्थ भएपछि देशमा राजनीतिक संक्रमण सुरु भएको थियो। त्यसपछि अन्तरिम व्यवस्थाको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले सम्हालेका थिए र उनकै नेतृत्वमा निर्वाचन सम्पन्न भएको थियो।

नवनियुक्त प्रधानमन्त्री रहमानले किसान कार्ड, परिवारका लागि खाद्य सहुलियत, रोजगारी सिर्जना, साना–मझौला उद्योग प्रवर्द्धन तथा सूचना–प्रविधि क्षेत्रमा लाखौं रोजगारी सिर्जना गर्ने योजना अघि सारेका छन्। सीमान्तकृत समुदायका लागि विशेष कार्यक्रम, वैदेशिक रोजगारीमा जाने युवालाई तालिम र सहुलियत कर्जा दिने घोषणा पनि उनले गरेका छन्।

लोकतान्त्रिक संस्थाहरूलाई स्वतन्त्र बनाउने, अर्थतन्त्र सुदृढ गर्ने र सुरक्षा प्रत्याभूति सुनिश्चित गर्ने उनको प्राथमिकता रहेको बताइएको छ। विदेश नीतिमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै छिमेकी देशहरूसँग सम्बन्ध सुधार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

सपथसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि पदभार ग्रहण गरेका छन्। नयाँ नेतृत्वसामु राजनीतिक स्थिरता, आर्थिक पुनरुत्थान र अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा राख्ने चुनौती देखिएको विश्लेषण गरिएको छ।