बागलुङ–१ स्वस्थ राजनीतिक सन्देश: एउटै मञ्चबाट ८ उम्मेदवारको समृद्धि प्रतिबद्धता

६ फागुन, बागलुङ। बागलुङ क्षेत्र नम्बर १ मा चुनावी माहोल सकारात्मक देखिएको छ। मंगलबार ऐश्वर्य पार्कमा आयोजित नागरिक संवाद कार्यक्रममा विभिन्न दलका ८ उम्मेदवार एउटै मञ्चमा उभिएर आफ्ना योजना सार्वजनिक गर्दै समृद्ध बागलुङ निर्माणलाई साझा प्रतिबद्धता जनाएका छन्।
कार्यक्रममा सहभागी उम्मेदवारहरूले प्रतिस्पर्धा स्वस्थ बनाउँदै विकास, सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छन्।
नेकपा एमालेका उम्मेदवारले लामो समयको जनसेवाको अनुभवलाई विकाससँग जोड्दै समृद्धिको अभियान अगाडि बढाउने बताए।
नेपाली कांग्रेसका उम्मेदवारले पूर्वाधार विस्तार, पारदर्शी शासन र जनमुखी योजनामार्फत जिल्लाको रूपान्तरण गर्ने प्रतिबद्धता जनाए।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार कृष्ण अधिकारीले संविधान रक्षा, प्रणाली सुधार र आर्थिक अवसर विस्तारलाई प्राथमिकतामा राख्ने बताए भने
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नीतिगत सुधार र नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने एजेण्डा अघि सारे।
अन्य दलका उम्मेदवारहरूले पनि सामाजिक न्याय, सांस्कृतिक पहिचान, युवाको सहभागिता र विकासमा समान पहुँचजस्ता विषय उठाउँदै बागलुङलाई समृद्ध र समावेशी बनाउने लक्ष्य व्यक्त गरे।
उम्मेदवारहरू एउटै मञ्चमा उभिएर आफ्ना धारणा राख्नु लोकतान्त्रिक संस्कारको सकारात्मक संकेत मानिएको छ। स्थानीयवासीले यस्तो खुला संवादले मतदातालाई स्पष्ट छनोट गर्न सहयोग पुग्ने र स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई बल मिल्ने अपेक्षा गरेका छन्।
















