क्रान्तिको आधारभूमिबाट समाजवादको नयाँ यात्रा सुरु गर्न आएको हुँ: प्रचण्ड

1.2K
shares

५ फागुन, रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्वलाई क्रान्तिको आधारभूमि बताउँदै यहीँबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने उद्घोष गरेका छन्।

चुनावी अभियानका क्रममा विकट क्षेत्रहरूको भ्रमणपछि रुकुमकोटमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्गम बस्तीहरूमा छोटो समयमै अभियान सम्पन्न गरेको अनुभव सुनाए। कठिन भूगोलका बीच जनताको उत्साहले आफूलाई नयाँ ऊर्जा दिएको उनको भनाइ थियो।

भुमे र पुथा उत्तरगंगा गाउँपालिकाका विभिन्न बस्तीबाट सडक सञ्जाल विस्तार, अधुरा सडक सम्पन्न गर्ने, पुल निर्माण तथा आधारभूत पूर्वाधार विकासका माग आएको उनले बताए। शिक्षा, पर्यटन र रोजगारीका विषयमा पनि जनताको विशेष चासो देखिएको उनले उल्लेख गरे।

अघिल्ला जनप्रतिनिधिले गरेका कामप्रति आंशिक सन्तुष्टि देखिए पनि अब गुणात्मक विकास चाहिएको जनअपेक्षा स्पष्ट भएको उनले बताए। अभियानका क्रममा प्राप्त सुझाव र ज्ञापनपत्रलाई व्यवस्थित गरी पाँच वर्षभित्र परिणाममुखी काम गर्ने प्रतिबद्धता उनले जनाए।

रुकुमपूर्व जनयुद्ध र राजनीतिक परिवर्तनसँग जोडिएको ऐतिहासिक भूमि भएको उल्लेख गर्दै उनले यहीँबाट देशलाई नयाँ राजनीतिक सन्देश दिने उद्देश्य रहेको बताए। जनयुद्ध दिवसको सन्दर्भमा सहिद तथा बेपत्ता परिवार र घाइतेहरूलाई सम्मान गरिएको जानकारी पनि उनले दिए।

नेपाली समाजवाद विदेशी मोडेलको नक्कल नभई स्थानीय संस्कृति, परम्परा र सामुदायिक जीवनशैलीमा आधारित हुनुपर्ने धारणा व्यक्त गर्दै उनले रुकुमपूर्वले त्यसको सम्भावना देखाएको बताए।

जिल्लाको समग्र विकास र जनताको हितका लागि आफू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै उनले अभियानलाई जनअपेक्षाअनुसार परिणाममुखी बनाउने विश्वास व्यक्त गरे।