बागमती प्रदेश सभामा नेवारीमा प्रश्न–तामाङ भाषामा मन्त्रीको उत्तर

364
shares

काठमाडौं ।   बागमती प्रदेश सभामा शनिबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा पहिलोपटक मातृभाषामै प्रश्न–उत्तर भएको छ। नुरज बज्राचार्यले नेपाल भाषा (नेवारी) मा प्रश्न सोधेपछि प्रभात तामाङले तामाङ भाषामै जवाफ दिएका हुन्।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद बज्राचार्यले आफ्नो निर्वाचन क्षेत्रबाट सिफारिस भएका योजना बजेटमा नसमेटिएको र सिलिङअन्तर्गतका योजना पनि नपरेको भन्दै त्यसको कारण स्पष्ट पार्न माग गरेका थिए।

नेवारी भाषामा प्रश्न आएपछि सभामुख अप्सरा चापागाईंले प्रश्नको अनुवाद गरेर मन्त्रीलाई उपलब्ध गराउन निर्देशन दिएकी थिइन्। त्यसपछि अन्य सांसदहरूले नेपाली भाषामा पूरक प्रश्न सोधे।

जवाफ दिने क्रममा मन्त्री तामाङले भने नेवारी भाषामा सोधिएको प्रश्नको उत्तर तामाङ भाषामै दिए। त्यससँगै प्रदेश सभा बैठकमा केहीबेर हाँसो गुञ्जिएको थियो भने केही सांसदहरूले टेबल ठोक्दै समर्थन जनाएका थिए। दुवै भाषा नबुझ्ने सांसदहरू भने अनुवादको प्रतीक्षामा देखिएका थिए।

मन्त्री तामाङले अनुसूची–३ अन्तर्गतका सबै योजना समेट्न सम्भव नभएको स्पष्ट गर्दै यस वर्षदेखि योजनालाई व्यवस्थित प्रक्रियाबाट समावेश गर्ने अभ्यास सुरु गरिएको बताए। सबै योजना एकैपटक सम्बोधन गर्न नसकिने भएकाले आगामी दिनमा सबैको सहकार्य आवश्यक रहने उनको भनाइ थियो।

बागमती प्रदेशमा नेपाल भाषा (नेवारी) र तामाङ भाषा सरकारी कामकाजका भाषाका रूपमा मान्यता प्राप्त छन्। यसअघि मातृभाषामा बोल्ने सांसदहरूले आफैं नेपालीमा अनुवाद गर्ने अभ्यास रहे पनि शनिबार पहिलोपटक फरक–फरक मातृभाषामा प्रत्यक्ष सवाल–जवाफ भएको हो।

प्रदेश सभाले मातृभाषाको प्रयोग बढेसँगै अनुवादकको व्यवस्था गरेको छ। यद्यपि केही सांसदहरूले बैठक चलिरहेकै बेला ‘रियल टाइम’ अनुवादको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। प्रदेश सभा सचिवालयले भने त्यसका लागि नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने बताउँदै आएको छ।

शनिबारकै बैठकले बागमती प्रदेश सरकारको विनियोजन विधेयक पनि पारित गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083