श्रीमति तथा छोरी माथि एसिड आक्रमण गर्ने विरुद्ध अभियोगपत्र दर्ता

Nepal Life Insurance Long Ad

जनकपुरधाममा केही साता अगाडी आफ्नै श्रीमती र छोरी माथि एसिड आक्रमण गरी घाइते बनाएको घटनालाई लिएर जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले २ जनाविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको छ ।

गत कार्तिक २९ गते जनकपुरधाम वडा नम्बर ४ स्थित आरती साह माथि उनकै श्रीमान्ले एसिड आक्रमण गरी घाइते बनाएपछि जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले पिडितलाई न्याय दिलाउनका लागि अगाडी बढेको छ ।

कार्यालयले धनुषा जिल्ला अदालतमा २ जनाविरुद्ध अभियोग पत्र दर्ता गराएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायधिवक्ता सीताराम अर्यालले जानकारी दिनुभएको छ । उहाँले आरतीका श्रीमान् वर्ष २६ सञ्जिव साह र एसिड विक्रेता नागेन्द्र साहमाथि अभियोग पत्र दर्ता गरेको जानकारी दिनु भयो ।

सरकारी वकिलको कार्यालयले दुबै जनालाई १५ वर्ष ६ महिना कैद सजाय हुने गरी अभियोग पत्र दायर गरेको जानकारी अर्यालले दिनु भयो ।

जिल्ला न्यायधिवक्ता अर्यालले दुबै जनाविरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदाबी गरिएको छ । अंगभंगका लागि ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना गरी कुल १५ वर्ष ६ महिनाको सजाय माग दावी सहित अदालतमा अभियोग पत्रमा दत्र्ता गराउने काम भएको जानकारी दिनु भयो ।

सो एसिड आक्रमणका लागि सञ्जिवले जनकपुरधाम वडा नंं ४ का नागेन्द्र साहको निखिल स्टोरबाट एसिड खरिद गरेको पाइएकाले उहा माथि पनि कारवाहीको लागि सजायको माग दावी गरिएको अर्यालले जानकारी दिनु भयो ।

एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंगमा गहिरो चोट परेको थियो । एसिड आक्रमणमा परी उनकै छोरी रियाको हातमा र टाउकोमा खत बसेको पाइएको पनि सरकारी वकिलको कार्यालयले जनाएको छ ।

२५ मंसिर २०७७, बिहीवार १८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु