सहकारीको उदाहरणीय कार्य : रैथाने धानका प्रजातिको बीउ जोगाउँदै

सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय) जातका धानका प्रजाति अहिले गाउँघरतिर पनि पाउनै मुस्किल हुँदै गएको छ । फेरि कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन् ।

उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले रैथाने (स्थानीय) जातका धानहरु खेतमा लगाउन छोड्दै गएका हुन् । बढी उत्पादन दिने, बढी आम्दानी हुने धान खेतीप्रति किसानको मोह बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् ।

किसानले स्थानीय जातका धान लगाउन छाडेपछि त्यस्ता धानका प्रजाति जोउनका लागि कञ्चनपुरको लालझाडी गाउँपालिका–३ बल्मीमा रहेको अनमोल सहकारी संस्थामा आबद्ध उपभोक्ता डेढ दशकदेखि यस्तो धानका बीउको जगेर्ना गर्ने प्रयासमा जुटेका छन् ।

यस सहकारीमा आबद्ध उपभोक्ताले धानको बीउ खोजी गरेर खेतमा रोपेर जगेर्ना र संरक्षण गर्दै आएका छन् । सहकारीमा आबद्ध डेढ सय परिवार धान जोगाउने कार्यमा संलग्न भएका छन् । यसका लागि प्रत्येक परिवारले स्थानीय जातको एक धानको प्रजाति खेतमा रोप्नैपर्ने नियम बनाइएको छ । प्रति सदस्यले आधादेखि एक कठ्ठा जग्गामा सो प्रजातिका धान रोप्दै आएका छन् ।

यो नियमअनुसार धान लगाएर धानको बीउ उत्पादन गरी उपभोक्ताले सहकारीमा बुझाउने गरेका छन् । सहकारीको गोदाम घरमा बीउ राख्ने व्यवस्था गरिएको छ । प्रति उपभोक्ताले २० देखि २५ किलो धानको बीउ उत्पादन गर्ने गर्दछन् ।

“धानका विकासे जातको तुलनामा रोग कीराको समस्या कम हुन्छ । कम मलजलमै फल्छ”, सहकारीका अध्यक्ष श्रीकृष्ण रानाले भन्नुभयो, “उन्नत जातका धान लगाउँदा नफल्ने समस्यासमेत छ । नक्कली विकासे बीउका कारण किसान प्रतिवर्ष ठगिँदै आएका पनि हामीले सुनेकै छौँ । विकासे र उन्नतको तुलनामा स्थानीय जातका धान कम फले पनि किसानले निराश हुनु भने पर्दैन, विकासेजस्तो फल्दै नफल्ने हँुदैन ।”

“छाड्दै गएका धानका रैथाने प्रजातिको खेतीका लागि मागसमेत आउन थालेको छ”, स्थानीय किसान जग्गुप्रसाद चौधरीले भन्नुभयो, “विकासे धानका प्रजातिभन्दा महङ्गो मूल्यमा बिक्री गर्न थालेका छौँ । खान मिठो हुने, पौष्टिकता भएका धानका प्रजातिको माग बाह्य जिल्लाबाट बढी आउन थालेको छ ।”

सबैभन्दा बढी खेतमै फल्न शुरु गर्दा मगमग बास्ना आउने राइमुनुवा, खानमा घ्यूको जस्तै बास्ना दिने घ्यूपुरी र खाजाका रुपमा प्रयोग हुने अन्ती धानको बढी माग आउने गरेको उहाँको भनाइ छ । एकै ब्लकमा सबै धानका प्रजाति देखिने गरी लगाउने किसानलाई सहकारीले पारिश्रमिकका रुपमा रकम उपलब्धसमेत गराउँदै आएको छ ।

सहकारीले बीउ बैंक सञ्चालन गरी २८ प्रजातिका धान संरक्षण गरेको छ । छिटो पाक्ने १८ जातका र ढिलो पाक्ने १० जातका रैथाने जातका धानका प्रजातिको संरक्षण गरेको छ । छिटो पाक्नेमा अन्जना, सिमटारी, निमै, दुलहनीया, थापाचिनी, मुटरमुर, गजरगौला, घ्यूपुरी, सेतो साटा, वगटी, काला साटा, चैनी, अन्ती, गजरगौला, आशाफल, करङ्गी, तिलकीलगायत जातका धान संरक्षण गरिएका छन् ।

ढिलो पाक्नेमा श्यामजीरा, कनकधिरा, लाल चन्द, राइमुनुवा, कृष्णा, तुलसी, राजभोग, रतुवा, गुर्रा, मनसरा र वाउन्न चिनीलगायतका धान संरक्षण गरिएका छन् । प्रतिवर्ष स्थानीय जातका धानखेती गरेर यहाँका सहकारीमा आबद्ध किसानले संरक्षणमा टेवा पु¥याउँदै आएका छन् ।

“स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय कृषकलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ”, सहकारीका अध्यक्ष रानाले भन्नुभयो, “कृषकले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।” बाह्य जिल्लाका किसानलाई बीउ साटासाट गरी स्थानीय जातका बीउ दिँदै आएको उहाँले बताउनुभयो ।

“यहाँ नभएको बीउ अन्यत्रबाट ल्याउँछौँ । यहाँ भएको बीउ अरु जिल्लाका किसानलाई दिन्छौँ । हालसम्म कैलालीको गदरिया, पथरिया, मसुरिया र बारा, पर्सालगायतका जिल्लासम्मका किसानसँग बीउ साटासाट गरेका छौँ”, उहाँले भन्नुभयो, “जसबाट लोप हँुदै गएका स्थानीय जातका धानका बीउ जोगाउन मद्दत पुगेको छ ।”

उहाँका अनुसार कृषि वैज्ञानिकहरुले पुरानो स्थानीय जातको धानका प्रजातिबाट विकासे र उन्नत धानको बीउ तयार गर्नका लागि समेत बीउ बैंकबाट प्रतिवर्ष बीउ माग गर्दै आएका छन् । बीउ बैंकबाट प्रतिवर्ष स्थानीय जातका धानका बीउ जिन बैंकलाई उपलब्ध गराउने कार्य हँुदै आएको छ । स्थानीय जातको धान नभए नयाँ प्रजातिका उन्नत र विकासे धानका प्रजाति विकास हुन सक्दैनन् । त्यसैले पनि यसको संरक्षणमा जोड दिनुपरेको सहकारीका अध्यक्ष राना बताउनुहुन्छ ।

सहकारीमा आबद्ध किसानले एकै ठाउँमा देखिने गरी नमूनाका रूपमा घरमै तयार गरिएको मलको प्रयोग गरी स्थानीय जातका धानको खेतीलाई निरन्तरता दिँदै आएका छन् । प्रतिवर्ष लोपोन्मुख अवस्थामा पुगेका धानको खेती गरी धान संरक्षणको कार्यमा यस सहकारी र यहाँ आबद्ध उपभोक्ता सदस्यले टेवा पु¥याउँदै आएका छन् ।

स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्रै नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन् । सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हँुदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान गरिवदास चौधरीले बताउनुभयो । स्थानीय जातको धानको बीउ प्रतिवर्ष २० क्विन्टल जति उत्पादन हुने गरेको छ । स्थानीय जातका धानको माग आएमा सहकारीले प्रतिकिलो रु ५० का दरले बिक्रीसमेत गर्दै आएको छ ।

“हामीले यी जातको धानको बीउ मात्रै बिक्री गर्दैनौँ”, सहकारीका पदाधिकारी आशाराम चौधरीले भन्नुभयो, “स्थानीय जातका धानमा विकासे धानको क्रसिङ गरेर नयाँ धानका प्रजातिको विकासमा समेत लागेका छौँ ।” यो धानको एक महत्वपूर्ण विशेषता भनेको सुक्खा सहन सक्ने हो र कम मलमै बढी प्रतिफल दिने धानको प्रजाति भएकाले यसको थप विकासमा लागेको उहाँले बताउनुभयो ।

किसानलाई विकासे र उन्नत धानको बीउ बजार दररेटभन्दा १० देखि १५ प्रतिशत सस्तोमा सहकारीले बिक्री गर्दै आएको छ । लालझाडी गाउँपालिकाको कृषि शाखाले सहकारीले उत्पादन गरेको धानको उन्नत र विकासे बीउ खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा दिँदै आएको छ । स्थानीय जातका धानको खेती गर्न र भण्डारण गर्न निकै चुनौती रहेको सहकारीमा आबद्ध सदस्यको भनाइ छ ।

संस्थाले बीउ भण्डारण गर्न सहज होस् भनेर दातृ संस्थाको सहयोगमा दुईतले पक्की भण्डारणगृहसमेत निर्माण गरेको छ । बीउको उत्पादनभन्दा भण्डारणगृहको क्षमता कम भएकाले बीउ राख्न समस्या भएको सदस्यहरुको गुनासो छ । भण्डारणगृहको क्षमता ५० क्विन्टल राख्न सक्ने मात्र छ । क्षमताभन्दा बढी भएको बीउ किसानको घरमै राखिँदै आएको छ । बीउ भण्डारणगृहको जस्तापाताले छाएको छाना जीर्ण भएकाले वर्षात्मा पानी चुहिने भएकाले बीउ भण्डारणमा समेत चुनौती थपिएको छ ।

बीउलाई कीरा र ढुँसीबाट जोगाउनका लागि जैविक विषादीको प्रयोग गरी टिनको भकारीमा भण्डारण गरिँदै आएको छ । स्थानीय जातका धानका बीउसँगै बैंकले किसानलाई उन्नतजातका राधा–४, सावित्री, हर्दिनाथलगायतको धानको बीउ र बढी फल्ने गौतम, आदित्य र भृकुटी जातका गहुँको बीउसमेत बैंकबाट किसानलाई उपलब्ध गराउँदै आएको छ ।

बैंकमा आबद्ध किसनले उन्नत जातका धानको बीउ मात्रै प्रतिवर्ष ७० क्विन्टल बढी उत्पादन गर्दै आएका छन् । गत वर्ष गहुँको बीउ ५० क्विन्टल बैंकमा आबद्ध किसानले उत्पादन गरेका थिए । सहकारीले सञ्चालन गर्दै आएको बीउ बैंकले स्थानीय जातका धानका बीउसँगै उन्नतजातका धान, गहुँको गुणस्तरीय बीउ उत्पादन गरी सघाउ पुरयाएकाले बीउ बैंकका समस्या समाधान गर्ने कार्य अगाडि बढाइने लालझाडी गाँउपालिकाका प्रमुख मदनसेन वडायक बताउनुहुन्छ ।

“सहकारीलाई कुन किसिमको सहयोग चाहिन्छ माग आएमा सहयोग गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो, “सहकारीले स्थानीय जातका लोपोन्मुख अवस्थामा पुगेका बीउ जोगाएर गाउँपालिकाकै नाम राखेको छ ।” बीउ बैंकका लागि उत्पादनअनुरुपको भण्डारणगृह, कृषि औजार, बीउ भण्डारण सामग्री र कर्मचारीको तलबको व्यवस्थाको माग बीउ बैंक सञ्चालन गर्दै आएको सहकारीका पदाधिकारीले गर्नुभएको छ । बीउ बैंक स्थापनामा सघाउ पु¥याउने लिवर्ड संस्थाले रु दुई लाख १० हजार र निड्स नामक गैरसरकारी संस्थाले भवन निर्माणका लागि रु एक लाख सात हजार रकम उपलब्ध गराएको छ ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय र हालको कृषि ज्ञान केन्द्रको तर्फबाट सहकारीलाई बीउ ग्रेडिङ मेसिन, सिडड्रिल, पावरटिलर रिपरलगायतका कृषि उपकरण तथा औजार अनुदानमा उपलब्ध भएका छन् । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट अन्य सहयोग भने नभएको सहकारीका पदाधिकारीको भनाइ छ ।

गैरसरकारी संस्थाको सहयोगमा विसं २०६४ मा स्थापना गरिएको बीउ बैंक तत्कालीन जिल्ला कृषि विकास कार्यालय र दातृ नियकाको सहयोगमा सञ्चालन हुँदै आएको थियो । सहकारी गठनपछि सबै निकायले सहयोग उपलब्ध गराउन बन्द गरेपछि बैंक सञ्चालन गर्न अप्ठेरो परेको छ ।

सहकारीका पदाधिकारी भन्छन्, “बीउ बैंकमात्रै सञ्चालन गर्दा थोरै रकमको जोहो मिलाउँदै यहाँसम्म आइपुग्यौँ । सहकारी गठन भएपछि कर्मचारीको तलब दिन पनि समस्या नै छ । हामीले पैसा कमाएका छैनौँ तर स्थानीय सबै नागरिकको माया कमाएका छौँ । एकपटक अनमोल सहकारीको बीउ पाउनुपर्छ भन्ने किसानको विश्वास पाएका छौँ । यसलाई नै हामीले अनमोल ठानेका छौँ । यसले आत्मबल बढाएको छ ।”

२५ मंसिर २०७७, बिहीवार १८:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु