प्यारोलमा छुटेका व्यक्तिबाट करोडौंको चोरी, प्रहरीमाथि आक्रमणपछि गोली प्रहार

2.93K
shares

काठमाडौँ । पटक–पटक नाम परिवर्तन गर्दै काठमाडौँका विभिन्न स्थानमा चोरी गर्दै आएका बाँकेका ३४ वर्षीय प्रेम थारु अन्ततः प्रहरी नियन्त्रणमा परेका छन्। चोरी नियन्त्रणका क्रममा प्रहरीमाथि आक्रमण गरेपछि उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालै चोरीका घटना बढ्दै गएपछि शंकास्पद व्यक्तिहरूमाथि निगरानी र चेकजाँच तीव्र बनाइएको थियो। सोही क्रममा शुक्रबार राति करिब साढे ११ बजे काठमाडौँ महानगरपालिका–६ स्थित पुरी गाउँ क्षेत्रमा चेकजाँचका बेला थारु पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले ड्युटीमा खटिएका स्वयम्भूका प्रहरी वरिष्ठ हवल्दारमाथि आक्रमण गरेका थिए। अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले उनको खुट्टामा गोली प्रहार गरेको र हाल उनी उपचाररत रहेको जानकारी दिइएको छ।

अनुसन्धानबाट थाहा भएअनुसार थारुले आफूलाई कहिले विकास, कहिले सौरभ त कहिले ‘सुप्रिम थारु’ भन्दै परिचय दिने गरेका थिए। दिउँसोको समयमा घरमा कोही नभएको मौका छोपी औजार प्रयोग गरी झ्यालढोका फोडेर नगद तथा गरगहना चोरी गर्नु उनको नियमित शैली रहेको प्रहरीले जनाएको छ।

मंसिरदेखि माघसम्मको अवधिमा थारुले काठमाडौँका नौ वटा घरमा चोरी गरेको उजुरी परेको छ। ती घटनाबाट उनले ८८ तोला सुन, ९९ तोला चाँदी, दुई तोला हिरासहित विभिन्न विदेशी मुद्रासमेत चोरी गरेका थिए। चोरी गरिएका सुनचाँदी र विदेशी मुद्राको मूल्य तीन करोड रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक हिसाबले देखाएको छ।

थारु यसअघि चोरी मुद्दामा केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए। दुई तिहाइ सजाय पूरा गरेपछि ‘राम्रो आचरण’को आधारमा उनलाई प्यारोलमा छुट दिइएको थियो। तर, घरमै कैद भुक्तान गर्नुपर्ने अवस्थामै पुनः चोरीमा संलग्न भएको खुलेको छ।

बरामद गरिएका गरगहना र अन्य सामग्रीहरू सम्बन्धित पीडितले पहिचान गर्न सक्ने गरी सार्वजनिक प्रदर्शनीमा राख्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धान जारी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083