जेन–जी आन्दोलनमा ध्वस्त कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा

1.34K
shares

२४ माघ, काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ध्वस्त भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। आन्दोलनका बेला क्षतिग्रस्त बनेका १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वर शाखा शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पुनः सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले देशमा यस्ता दुःखद घटना फेरि नदोहोऱिन् भनी कामना गर्दै भगवानसँग प्रार्थना गरेका छन्।

जेन–जी आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी गरिएको घटनालाई दुःखद् भन्दै गुरुङले त्यसमा पश्चाताप गरेर मात्र बस्ने पक्षमा आफू नरहेको बताए। उनले भने, “हे भगवान, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्। नेपाल राम्रो होस्, राम्रो हुनैपर्छ, जुन दुर्घटना भयो, त्यसको ठूलो भार भाटभटेनीले व्यहोर्नुपर्‍यो। तर शून्य अवस्थामा पुगेको भाटभटेनी फेरि उठेको छ।”

उनले ध्वस्त भएका अन्य ११ वटा भाटभटेनी सुपरमार्केट पनि क्रमशः छिट्टै पुनः सञ्चालनमा ल्याइने जानकारी दिए। “अब सबै चाँडै उठ्नेछन्। भाटभटेनी मात्र होइन, नेपाल नै उठ्छ। नेपालीसँग हिम्मत छ, क्षमता छ, आफ्नै सिर्जना गर्ने सामर्थ्य छ,” गुरुङले भने।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा निजी सम्पत्तिका रूपमा रहेका भाटभटेनी सुपरमार्केटअन्तर्गत १२ वटा शाखा ध्वस्त हुँदा अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो।