अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्रीको शोक वक्तव्य

चलचित्र जगत्ले दरिलो खम्बा गुमायो: प्रधानमन्त्री

2.07K
shares

काठमाडौँ । नेपाली सिने क्षेत्रमा लोकप्रिय अभिनेता सनिल थापाको निधनप्रति प्रधानमन्त्री सुशीला कार्कीले गहिरो दुःख व्यक्त गरेकी छन्। शनिबार शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको उल्लेख गरेकी छन्।

प्रधानमन्त्री कार्कीले थापाको निधनसँगै नेपाली मात्र होइन, भारतीय चलचित्र जगत्ले समेत एक बहुआयामिक कलाकार र दरिलो खम्बा गुमाएको बताएकी छन्। ‘चिनो’ चलचित्रका राते काइँलादेखि बलिउड फिल्म ‘मेरी कोम’मा प्रशिक्षकको भूमिकासम्म थापाले खलनायक तथा सहनायकका रूपमा प्रस्तुत गरेका सशक्त अभिनयले करोडौँ दर्शकको मन जित्न सफल भएको वक्तव्यमा उल्लेख गरिएको छ।

चार दशकभन्दा बढी समय नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका थापाको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने प्रधानमन्त्रीको भनाइ छ। उनका हरेक चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने वक्तव्यमा उल्लेख छ।

शनिबार बिहान शंखमूलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका ६८ वर्षीय थापालाई उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

उनको निधनपछि आफन्त, कलाकार तथा शुभेच्छुकहरू अस्पतालमा जम्मा भएका छन्। नेपालमा मात्र होइन, बलिउडमा समेत अभिनय गरेर चर्चा कमाएका थापाले संजय लिला भन्सालीद्वारा निर्माण गरिएको फिल्म ‘मेरी कोम’मा काम गरेपछि अन्तर्राष्ट्रिय स्तरमा समेत पहिचान बनाएका थिए।

प्रधानमन्त्री कार्कीले यस दुःखद् घडीमा दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभचिन्तक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083