विचारले नयाँ, इतिहासले पुरानो कांग्रेसलाई अरूले छेक्न सक्दैनन् : महामन्त्री पौडेल
वि.सं.२०८२ माघ २४ शनिवार २०:०६
shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेस पुरानो पार्टी भए पनि यसको विचार, नीति र नेतृत्वका हिसाबले सबैभन्दा आधुनिक शक्ति भएको दाबी गरेका छन्। नागरिकको चाहना अनुसार पार्टीभित्र सुधार र रूपान्तरण अघि बढेकाले कांग्रेसले फेरि जनविश्वास जित्ने उनले बताए।
काठमाडौं–५ बाट उम्मेदवार समेत रहेका पौडेलले क्षेत्रीय कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भदौ २३ को जेन–जी आन्दोलनलाई पार्टीका लागि आत्मसमीक्षाको अवसरका रूपमा लिएको उल्लेख गरे। आन्दोलनले देखाएका कमजोरी स्वीकार गर्दै कांग्रेस नागरिकले खोजेजस्तै रूपान्तरणको बाटोमा अघि बढेको उनको भनाइ थियो।
उनले भने, “हामी अब जनतासँग यही भन्न चाहन्छौँ—तपाईंहरूले चाहनुभएको कांग्रेस यही हो। यही कांग्रेसले देश रूपान्तरण गर्छ, त्यसका लागि मत दिएर साथ दिनुस्।”
महामन्त्री पौडेलले गगन थापाको नेतृत्वमा पार्टीले स्पष्ट नीतिगत परिमार्जनसहित निर्वाचनमा जाने निर्णय गरेको बताए। जन्मको आधारमा कांग्रेस पुरानो देखिए पनि विचारका हिसाबले कांग्रेसजस्तो नयाँ शक्ति अरू कुनै नभएको उनको जिकिर थियो।
कार्यकारी नेतृत्वबारे जनताले जान्न पाउने अधिकारलाई सम्मान गर्दै गगन थापालाई उम्मेदवार घोषणा गरिएको उनले बताए। “यो कुनै व्यक्तिको व्यक्तिगत निर्णय होइन, पार्टीको सामूहिक निर्णय हो,” पौडेलले स्पष्ट पारे।
उनका अनुसार आगामी दिनमा कांग्रेसले ब्रेन ड्रेन लगायतका राष्ट्रिय समस्यालाई सम्बोधन गर्ने १० प्रमुख एजेन्डासहित देश परिवर्तनको खाका प्रस्तुत गर्नेछ। अरूलाई गाली गरेर आफू सक्षम प्रमाणित नहुने भन्दै उनले दृष्टिकोण, नीति र एजेन्डाबाटै आफूलाई स्थापित गर्नुपर्ने बताए।
आफ्नो व्यक्तिगत भूमिकाबारे बोल्दै पौडेलले स्वास्थ्य मन्त्रीका रूपमा गरेको कामले मतदातालाई गर्व महसुस गराउने दाबी गरे। उनले भने, “संघीय सांसदले टोलको बाटो बनाइदियो कि दिएन भन्ने भन्दा पनि उसले देशका लागि के गर्यो भन्ने प्रश्न मतदाताले गर्छन्, मैले जितेको अवस्थामा कसैलाई शिर निहुराउनु पर्ने काम गरेको छैन।”
उनले आफूले सबै काम सकियो भन्न नचाहे पनि आफ्नो कार्यकालमा धेरै सुधारका प्रयास भएका र कुनै क्षति नपुर्याएको दाबी गरे।
कार्यक्रममा पार्टी सभापति गगन थापा समेत सहभागी थिए। सोही अवसरमा आगामी निर्वाचनलाई लक्षित गर्दै ५ सय १ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको जानकारी दिइयो।
















