१ करोड चन्दा उठाएर स्थानीय बासिन्दाले गरे यस्तो काम!

9.56K
shares

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका बासिन्दाले चन्दाबाट आर्थिक स्रोत जुटाएर १० किलोमिटर भन्दा बढी सडक निर्माण गरेका छन् ।

स्थानीय, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट रू. एक करोड १७ लाख ८५ हजार ९२० चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुँदै पेरी भारानी ताल पुग्ने सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष दुतबहादुर पुर्जाले बताए । ‘राजनीतिक र प्रशासनिक पहुँचको अभावमा पर्याप्त सरकारी बजेट नपाए पछि आफैँ स्रोत जुटाएर सडक खनेको बताईएकोे छ ।

वि.सं. २०६७ मा महभिरदेखि शुरु भएको सडक निर्माण कार्यले वि.सं. २०७४ पुसमा धार्मिक पर्यटकीयस्थल पेरीभारानी ताल नजिकै पुगे पछि पूर्णता पाएको हो । उक्त सडक निर्माणमा तत्कालीन हिस्तान गाविस र जिविसले विभिन्न चरणमा करीब रू. १० लाख सहयोग रकम उपलब्ध गराएका थिए । सडक मर्मतका लागि चालू आवमा अन्नपूर्ण गाउँपालिकाले रू. पाँच लाख विनियोजन गरेको छ ।

९५ घरधुरीको बसोबास रहेको घराम्दीमा मगर समुदायको बढि बाहुल्यता रहेको छ । रोजगारीका लागि बेलायत, हङकङ, अमेरिका, कोरिया, भारत, कतार, साउदी लगायत विश्वका विभिन्न देशका साथै काठमाडौं, पोखरा, बेनीमा बस्ने घराम्दीवासीले सडक निर्माणका लागि चन्दा सहयोग गरेका छन् ।

सबैभन्दा बढी रू. १० लाख ४ सय ५२ सहयोग गरेका घराम्दी घर भई हाल बेलायत निवासी होमबहादुर फगामी र ९४ वर्षीया ज्येष्ठ नागरिक तिलीसरा गर्बुजाले घराम्दीको धुपीसानमा आयोजित समारोहमा चन्दादाताको नामावली विवरण लेखिएको ताम्रपत्रको अनावरण गरेर सडकको उद्घाटन गरेका थिए।