महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार होमनाथ दाहाललाई

21.19K
shares

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

विसं २०७७ को सो पुरस्कार करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत डा. रामदयाल राकेशलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष प्रा पुरुषोत्तम दाहालले जानकारी दिए । यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित प्रेमसागरीदेवी निधि पुरस्कार २०७६ बाट नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील रहेका ज्ञानु प्रसाईँ सम्मानित हुने भएका छन् । विसं २०७७ को सो पुरस्कार काशीदेवी झालाई प्रदान गर्ने निर्णय भएको छ । दुवै पुरस्कारको राशि रु एक/एक लाख रहेको छ ।

पुरस्कार चयनका लागि डा विमल कोइरालाको संयोजकत्वमा डा दिनेश भट्टराई, डा कुमार कोइराला, दुर्गा घिमिरे र प्रा नवेन्द्र निधि रहेको समितिले माघ २४ मा बसेको बैठकले गरेको चयनअनुरुप प्रतिष्ठानले उल्लिखित व्यक्तित्वलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार निधिको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा आगामी फागुन १४ गते प्रदान गरिने छ ।

निधिको १००औँ जन्मजयन्तीका अवसरमा फागुन १२ गते विचारगोष्ठी र १३ गते महेन्द्रनारायण निधिको स्मृतिमा निर्मित महेन्द्रनारायण निधि अस्पतालको भवन तथा निधिको स्मारकको अनावरणसमेत गर्ने कार्यक्रम रहेको छ । विसं २०६८ देखि सञ्चालित अस्पतालको १०० शय्या क्षमताको आफ्नै नवनिर्मित भवन वसुन्धारामा रहेको छ ।

नेपालको इतिहासमा मधेश–तराई समुदायबाट राजनीति शुरु गरी राष्ट्रिय व्यक्तित्व बन्न सफल निधिको यो स्मारक चुरे पहाडभन्दा माथिल्लो भागमा पहिलो मधेसी समुदायको स्मृति स्मारक हुनेछ । विसं १९७८ फागुन १३ मा जनकपुरको नगराइनमा जन्मिएका निधिको पार्थिव अवशान विसं २०५६ मा भएको थियो ।

विसं २०५८ मा भानुभक्त ढकालको अध्यक्षतामा स्थापित महेन्द्रनारायण स्मृति प्रतिष्ठानले चेतनामूलक, सेवामूलक र विकासमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । प्रतिष्ठानको संरक्षक निधिका पुत्र एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083