निर्वाचनका लागि ६ अर्ब ३६ करोड निकासा
१९ अर्ब १५ करोड स्रोत सहमति
वि.सं.२०८२ माघ १६ शुक्रवार १२:५३
shares

काठमाडौं । अर्थ मन्त्रालयले आगामी २१ फागुनमा तय भएको निर्वाचन प्रयोजनका लागि कुल १९ अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरेको छ । यसमध्ये हालसम्म ६ अर्ब ३६ करोड रुपैयाँ निकासा भइसकेको अर्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार निर्वाचन आयोगका लागि मात्र १८ कात्तिकमा ४ अर्ब ९६ करोड रुपैयाँ स्रोत सहमति दिइएको थियो । त्यसपछि २० पुसमा थप १ अर्ब ७७ करोड ९० हजार रुपैयाँ स्रोत सहमति प्रदान गरिएको छ । यसअनुसार निर्वाचन आयोगलाई कुल ६ अर्ब ७३ करोड ६६ लाख ९० हजार रुपैयाँ बराबरको स्रोत सहमति दिइएको छ ।
निर्वाचन आयोगलाई १२ मंसिरमा ४ करोड ३१ लाख रुपैयाँ निकासा गरिएको थियो भने हालसम्म आयोगलाई मात्र ६ अर्ब ३१ करोड रुपैयाँ निकासा भइसकेको आयोगको तथ्यांकमा उल्लेख छ ।
निर्वाचन सुरक्षाका लागि सुरक्षा निकायलाई समेत उल्लेख्य बजेट स्रोत सहमति प्रदान गरिएको छ । राष्ट्रिय अनुसन्धान विभागका लागि १३ कात्तिकमा २ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिइएको थियो । नेपाली सेनालाई उपकरण खरिद प्रयोजनका लागि २८ मंसिरमा ४ करोड ४२ लाख ५० हजार रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको छ ।
त्यसैगरी गृह मन्त्रालय तथा मातहतका निकायहरूका लागि १० अर्ब ३९ करोड रुपैयाँ बराबर स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाली सेनालाई पुनः २० पुसमा १ अर्ब ९४ करोड रुपैयाँ बराबरको स्रोत सहमति प्रदान गरिएको थियो ।















