राष्ट्रपति पौडेलको जापान भ्रमण तालिका सार्वजनिक

2.08K
shares

काठमाडौँ। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा जाने भएका छन्। राष्ट्रपति पौडेल आइतबार राति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको उडानमार्फत जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार भ्रमण टोलीमा राष्ट्रपति पौडेलकी धर्मपत्नी सविता पौडेलसहित उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

माघ १९ गते राष्ट्रपति पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा सहभागी हुनेछन्। भ्रमणका दौरान उनले जापानी व्यावसायिक समुदायसँग बैठक गर्ने तथा जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।

भ्रमणका क्रममा माघ २० गते राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्नेछन्। त्यसै दिन जापानी प्रधानमन्त्री सुश्री ताकाइची सानाए तथा विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्किने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।