महाराजगञ्जको भाटभटेनी पुनः सञ्चालनमा
खरानीबाट उठे मीनबहादुर
वि.सं.२०८२ फागुन १४ बिहीवार १३:४७
shares

काठमाडौं । आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीबाट क्षतिग्रस्त महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। करिब ६ महिनाको मर्मत तथा पुनर्निर्माणपछि सुपरमार्केट आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङलगायतले विशेष पूजा गर्दै स्टोर पुनः सञ्चालनमा ल्याएका हुन्। आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेको भवन पुनर्निर्माण गरेर सञ्चालनमा ल्याइएको हो।
उक्त आन्दोलनमा देशभरका १२ वटा भाटभटेनी स्टोर प्रभावित भएका थिए। तोडफोड, लुटपाट र आगजनीका कारण अर्बौंको संरचना क्षतिग्रस्त भएको थियो भने करोडौंका सामान जलेका थिए। केही दिनअघि कोटेश्वरस्थित स्टोर पनि पुनर्निर्माणपछि सञ्चालनमा आइसकेको छ।
पुनर्निर्माण गरिएका स्टोरहरूको प्रवेशद्वारमा गुरुङको हात भाँचिएको तस्बिरसँगै जल्दै गरेको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र भाटभटेनीको दृश्य समेटिएको छ। त्यहाँ “हे भगवान्, अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस्” भन्ने सन्देश राखिएको छ।
ध्वस्त संरचना फेरि बन्न वर्षौँ लाग्ने अनुमानका बीच गुरुङले पुनर्निर्माणमार्फत स्टोर सञ्चालनमा ल्याएका हुन्। क्षतिबाट पुनः उठ्दै भाटभटेनीले निराशाबीच आशाको सन्देश दिएको टिप्पणी गरिएको छ।
















