रास्वपाले बहुमत नल्याए भ्रष्टाचार मौलाउँछ : लामिछाने

1.92K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपा नेतृत्वको सरकार बनेपछि मुलुकमा सुशासनको नयाँ जग बसाल्ने बताएका छन्। गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मत विभाजन नगर्न मतदातासँग आग्रह गरेका हुन्।

लामिछानेले समानुपातिक र प्रत्यक्षतर्फ फरक–फरक भोट हाल्ने चर्चा सुनेको उल्लेख गर्दै भोट बाँडिए सिट बाँडिने र त्यसले बहुमत नआउने बताए। रास्वपाले बहुमत नल्याए देशका भ्रष्टाचारीहरू सबैभन्दा बढी खुसी हुने दाबी गर्दै उनले “तिनलाई खुसी पार्ने होइन, घण्टी बजाउने हो” भने।

उनले वर्षौँदेखि मिलेर बसेका समुदायबीच धर्म, जात र सम्प्रदायका नाममा राजनीतिक विभाजन गर्न खोज्ने प्रयासप्रति सचेत रहन आग्रह गरे। आफू धर्मका नाममा राजनीति नगर्ने स्पष्ट पार्दै उनले राजनीति र सम्प्रदायलाई अलग राख्नुपर्ने धारणा व्यक्त गरे।

लामिछानेले आगामी २१ गतेको मतदानलाई केवल भोट खसाल्ने दिन नभई इतिहास लेख्ने अवसरको रूपमा चित्रण गरे। उनले गोरखा–१ बाट सुधन गुरुङ र गोरखा–२ बाट कविन्द्र बुर्लाकोटीलाई विजयी गराउन आग्रह गरे।

उनले भने, “सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिले नै जिउ कामेको छ,तर हामी यसपटक उहाँलाई सदन लिएरै जान्छौँ।”