प्रतिनिधिसभा निर्वाचन: फागुन २० रातिदेखि अत्यावश्यक बाहेक सवारीसाधन सञ्चालनमा रोक
वि.सं.२०८२ फागुन १४ बिहीवार १४:१३
shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेपछि अत्यावश्यक बाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइने जनाएको छ। रोक मतदान सम्पन्न नहुँदासम्म लागू रहनेछ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार एम्बुलेन्स, दमकल, शवबाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी र पास प्राप्त सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइनेछ।
निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै मतदानको मितिभन्दा सात दिनअघि नै देशभर मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन गृह मन्त्रालयलाई पत्र पठाइएको आयोगले जनाएको छ। साथै, निर्वाचन आचारसंहिता उल्लंघन भए तत्काल कारबाही गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ।
फागुन १८ गते राति १२ बजेपछि लागू हुने मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गराउन सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारीहरूलाई पनि निर्देशन दिइएको आयोगले जनाएको छ।
मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल आवतजावतका लागि सम्बन्धित एयरलाइन्स वा निजी सवारी प्रयोग गर्न दिइनेछ।
त्यस्तै, निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ।
मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र, नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्रमध्ये कुनै एक कागजात अनिवार्य साथमा लैजानुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
मतदानको दिन आवश्यक सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष पास वितरण इकाई स्थापना गरिने जनाइएको छ।
















