इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
इरान आक्रमण
वि.सं.२०८२ फागुन १७ आइतवार ०८:४२
shares

१७ फागुन, काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले ४० दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।
इरान राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै खामेनीको निधन र शोक अवधिको घोषणा गरिएको जानकारी दिएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसलमार्फत खामेनी मारिएको दाबी गरे पनि इरानबाट आधिकारिक पुष्टि आएको थिएन ।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसीसँगको कुराकानीमा खामेनी सुरक्षित रहेको बताएका थिए । तर शनिबार बिहानै खामेनी मारिएको दाबी गर्दै अलजजिराले इरानको फार्स न्युज एजेन्सीलाई उद्धृत गरेको छ । समाचारअनुसार खामेनी आफ्नै कार्यालयमा ‘आफूलाई तोकिएको जिम्मेवारी पूरा गरिरहँदा’ मारिएका थिए ।
फार्स न्युज एजेन्सीका अनुसार सरकारले ४० दिन शोक र सात दिन सार्वजनिक बिदा पनि घोषणा गरेको छ । इरानकै तस्निम न्युज एजेन्सीले पनि खामेनीको मृत्यु पुष्टि गरेको जनाएको छ ।
८६ वर्षीय इस्लामिक विद्वान खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहँदै आएका थिए । उनले इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीको उत्तराधिकारीका रूपमा पद सम्हालेका हुन् । खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार थियो ।
खामेनीको शासनकालमा पश्चिमा देशहरूसँग तनावपूर्ण सम्बन्ध, कडा आर्थिक प्रतिबन्ध र स्वदेशभित्रै विभिन्न चरणका विरोध प्रदर्शन देखिएका थिए । उनले संयुक्त राज्य अमेरिका र इजरायललाई प्रमुख शत्रुका रूपमा चित्रित गर्दै आएका थिए ।
पछिल्लो समय इजरायल–इरान तनाव चर्किएको सन्दर्भमा इजरायली नेताहरूले खामेनीलाई लक्षित टिप्पणी र सम्भावित कारबाहीका सङ्केत दिएका थिए । फेब्रुअरी २८, २०२६ को आक्रमणका क्रममा इजरायली अधिकारीहरूले इरानी नेतृत्व लक्षित भएको स्वीकार गरेका थिए ।















