बजारबाट १ खर्ब रुपैयाँ निक्षेप तान्दै नेपाल राष्ट्र बैंक
आजै बोलकबोल
वि.सं.२०८२ फागुन १९ मंगलवार १३:३१
shares

काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको जनाएको छ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहनेछ।
सावाँ तथा ब्याज भुक्तानी फागुन २५ गतेका लागि निर्धारण गरिएको छ। निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट तय हुनेछ। राष्ट्र बैंकका अनुसार बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ र बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ।
यस निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले निक्षेपबापत जम्मा गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर ९दशमलवपछि चार अंकसम्म स्पष्ट उल्लेख गर्नुपर्नेछ।
राष्ट्र बैंकले आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको कुल रकमसम्म वितरण गरिने जनाएको छ।
















