एलिना आचार्य
रुपन्देही, सिद्धार्थनगर।
सिद्धार्थनगर नगरपालिका–१२ मा रहेको हनी ब्युटि पार्लर केवल एउटा सौन्दर्य सेवा केन्द्र होइन, यो रुपन्देहीको महिला आत्मनिर्भरताको इतिहास बोकेको जीवित दस्तावेज हो। वि.सं. २०३२ सालमा स्थापना भएको यो पार्लरलाई रुपन्देहीकै पहिलो ब्युटि पार्लरको रूपमा चिनिन्छ। यसको नेतृत्व गर्दै आएकी छन् ७६ वर्षीया उषा किरण गुरुङ—एक यस्तो नाम, जसले हजारौँ महिलालाई सीप, आत्मविश्वास र रोजगारी दिएको छ।
संघर्षबाट सुरु भएको सौन्दर्य यात्रा
आजभन्दा करिब पाँच दशकअघि, महिलाले व्यवसाय गर्ने कुरा नै चुनौतीपूर्ण मानिन्थ्यो। त्यही समय उषा किरण गुरुङले साहसिक निर्णय लिइन्—सौन्दर्य व्यवसाय सुरु गर्ने। “त्यतिबेला पार्लर भन्ने कुरा नयाँ थियो। महिलालाई सिकाउने, उनीहरूलाई काम दिनु सजिलो थिएन,” उनी विगत सम्झँदै भन्छिन्। तर उनको दृढ इच्छाशक्ति अघि कठिनाइ टिक्न सकेन। उनले भारतको नौतनहवा र सुनौलीसम्म पुगेर तालिम लिने र दिने काम गरिन्। सीप सिकेर फर्किएकी उषाले रुपन्देहीमै महिलाहरूलाई तालिम दिन थालिन्। आजसम्म हजारौँ महिला हनी ब्युटि पार्लरबाट सीप सिकेर आत्मनिर्भर बनेका छन्।
‘हनी’ नाम पछाडिको कथा
पार्लरको नाम पनि आफैँमा भावनात्मक कथा बोकेको छ। उनी बताउँछिन्, “मेरो श्रीमान्ले छोरीलाई माया गरेर ‘हनी’ भनेर बोलाउनुहुन्थ्यो। त्यसैबाट प्रेरित भएर पार्लरको नाम ‘हनी’ राखेँ।” त्यही स्नेहिल सम्बोधन आज रुपन्देहीमा ब्रान्ड बनेको छ। सौन्दर्य सेवा मात्र होइन, उषा गुरुङले सांस्कृतिक क्षेत्रमा पनि योगदान दिएकी छन्। पहिले नृत्य कार्यक्रममा सहभागी हुँदा आवश्यक सांस्कृतिक पोशाक सहज उपलब्ध हुँदैनथ्यो। त्यसपछि उनले आफ्नै पहलमा सांस्कृतिक पहिरन भाडामा दिने चलन सुरु गरिन्।दिनअनुसार निश्चित रकम लिएर पोशाक दिने र कार्यक्रमपछि फिर्ता लिने व्यवस्था उनले सुरु गरिन्, जुन परम्परा आज पनि हनी ब्युटि पार्लरमार्फत चलिरहेको छ। यसले स्थानीय कलाकार र विद्यार्थीलाई ठूलो राहत दिएको छ। तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह भैरहवाको बालमन्दिर आउँदा उषा गुरुङको नेतृत्वमा स्वागत नृत्य प्रस्तुत गरीएको थियो । उनले आफ्नै शब्दमा रचेको गीत पनि गाएकी थिइन्,“जाउँला माया पोखरा, जोर मादल बोकेर…”यो गीत गाएको क्षण सम्झिँदा उनी आज पनि भावुक हुन्छिन्। त्यो समय उनको लागि केवल प्रस्तुति थिएन, त्यो आत्मविश्वास र पहिचानको घोषणा थियो।
जीवनसँग तीन पटकको लडाइँ
उषा किरण गुरुङ केवल व्यवसायी मात्र होइनन्, उनी एक साँचो योद्धा पनि हुन्। तीन पटक मुटुको शल्यक्रिया गराइसकेकी उनी अझै सक्रिय रूपमा समाजसेवामा लागिरहेकी छन्। स्वास्थ्य चुनौतीका बीच पनि उनले आफ्नो हिम्मत गुमाइनन्। “जीवनसँग हार मान्नु हुँदैन,” उनी मुस्कुराउँदै भन्छिन्।आज हनी ब्युटि पार्लर केवल एउटा व्यवसाय होइन, यो रुपन्देहीको सामाजिक परिवर्तनको साक्षी हो।
उषा किरण गुरुङले देखाइदिएकी छन्—उमेर बाधा होइन, इच्छाशक्ति नै सबैभन्दा ठूलो शक्ति हो।सिद्धार्थनगर–१२ को त्यो सानो सुरुवातले आज नेपालमै छुट्टै पहिचान बनाएको छ। रुपन्देहीले पाएको यो ‘हनी आमा’ केवल सौन्दर्य व्यवसायी होइनन्, उनी आत्मनिर्भरता, संस्कृति र साहसको प्रतीक हुन्।



















