अर्थतन्त्रको बाह्य क्षेत्र बलियो, तर दिगोपनामा जोखिम : राष्ट्र बैंक

2.42K
shares

१९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकहरू बलियो र सुधारोन्मुख देखिए पनि त्यसको दिगोपनामा जोखिम रहेको निष्कर्ष निकालेको छ। केन्द्रीय बैंकले पहिलोपटक सार्वजनिक गरेको अर्धवार्षिक समष्टिगत आर्थिक प्रतिवेदनले विप्रेषण आप्रवाहमा उच्च निर्भरता रहेकाले अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल हुँदा बाह्य स्थायित्व प्रभावित हुन सक्ने औंल्याएको हो।

प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पुससम्म शोधनान्तर स्थिति करिब ५ खर्ब रुपैयाँ बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि, उक्त सञ्चिति मुख्यतया विप्रेषणमा आधारित भएकाले बाह्य कारकको जोखिम कायमै रहेको केन्द्रीय बैंकले जनाएको छ। हाल व्यापार घाटा ९ खर्ब ५५ अर्ब रुपैयाँ बराबर छ। वनस्पति तेल निर्यातमा अत्यधिक निर्भरताका कारण निर्यात वृद्धिदर दीर्घकालीन रूपमा दिगो नहुने चेतावनी पनि प्रतिवेदनमा उल्लेख छ।

स्थिर विनिमय दर व्यवस्थाले भारतसँगको व्यापार र लगानी प्रवाह स्थिर बनाए पनि अन्य मुद्रासँगको विनिमय दरमा अस्थिरता र अवमूल्यनको दबाब देखिएको राष्ट्र बैंकको निष्कर्ष छ। नेपालको मुद्रास्फीति भारतीय मुद्रास्फीतिसँग नजिक रहँदै आएको उल्लेख गर्दै खाद्य मुद्रास्फीति गैरखाद्यको तुलनामा बढी उतारचढावपूर्ण हुने गरेको जनाएको छ।

आर्थिक वृद्धि मध्यम गतिमा रहेकाले चालु आवमा करिब ४ प्रतिशत हाराहारी वृद्धि हुने अनुमान गरिएको छ। उपभोक्ता मूल्य मुद्रास्फीति पनि ४ प्रतिशत आसपास रहने प्रक्षेपण छ। सेवा क्षेत्र विस्तार हुँदै गएको भए पनि कृषि र उद्योग क्षेत्रको योगदान खुम्चिँदै गएको प्रतिवेदनमा उल्लेख छ।

वित्तीय क्षेत्रको कार्यसम्पादन मिश्रित देखिएको छ। तरलता पर्याप्त रहे पनि कर्जा विस्तार सुस्त छ। निक्षेप र विस्तृत मुद्रा प्रदाय जीडीपीभन्दा माथि पुगेको छ भने कर्जा जीडीपीको नजिक पुगेको छ। ब्याजदर ऐतिहासिक रूपमा न्यून रहे पनि निष्क्रिय कर्जा दुई वर्षयता बढ्दो क्रममा रहेकोले बैंक तथा वित्तीय संस्थाको वासलातमा दबाब परेको राष्ट्र बैंकले जनाएको छ।

राजस्व परिचालन कमजोर रहँदा र पूँजीगत खर्च न्यून हुँदा खर्च संरचना चुनौतीपूर्ण बनेको छ। निरन्तर ऋणात्मक वित्तीय सन्तुलन र बाह्य अनुदान तथा सहुलियतमा आएको गिरावटले वित्तीय आवश्यकता थप फराकिलो बनाएको प्रतिवेदनले देखाएको छ। आन्तरिक ऋण परिचालन केही सीमित क्षेत्रमा केन्द्रित हुनु पनि चुनौतीका रूपमा औंल्याइएको छ। यद्यपि, कुल सार्वजनिक ऋण क्षेत्रीय औसतभन्दा तल रहेकाले उत्पादकत्व र रोजगारी वृद्धि हुने क्षेत्रमा खर्च प्राथमिकता दिन अझै वित्तीय स्पेस बाँकी रहेको राष्ट्र बैंकको भनाइ छ।

विश्व अर्थतन्त्रबारे अन्तर्राष्ट्रिय मुद्रा कोषको ‘वर्ल्ड इकोनोमिक आउटलुक, जनवरी २०२६’ अद्यावधिक विवरणलाई उद्धृत गर्दै २०२४ र २०२५ मा विश्व उत्पादन वृद्धि करिब ३.३ प्रतिशत र मुद्रास्फीति ३.८ प्रतिशत रहने अपेक्षा गरिएको उल्लेख छ। विकसित तथा उदीयमान अर्थतन्त्रका केन्द्रीय बैंकहरूले माग प्रोत्साहन गर्न नीतिगत दर कटौती गर्दै मौद्रिक नीति खुकुलो बनाउने क्रम जारी रहेको प्रतिवेदनमा जनाइएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै आर्थिक स्थायित्व र दिगो विकासमा टेवा पुर्‍याउने उद्देश्यले मौद्रिक तथा विदेशी विनिमय नीति तर्जुमा गर्ने जिम्मेवारी राष्ट्र बैंकको हो। नयाँ समष्टिगत आर्थिक प्रतिवेदनले मौद्रिक नीति संरचना पुनर्गठन र विश्लेषणको आधार तयार गर्ने दाबी पनि केन्द्रीय बैंकले गरेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083