बुढानीलकण्ठ सोसल युथ क्लबद्वारा निशुल्क दन्त शिविर सम्पन्न
वर्षाका बाबजुद बुढानीलकण्ठमा निःशुल्क दन्त शिविर, १२० भन्दा बढी लाभान्वित
वि.सं.२०८३ जेठ १६ शनिवार २०:१९
shares

काठमाडौं। बुढानीलकण्ठ सोसल युथ क्लबको आयोजनामा तथा ओम समाज डेन्टल हस्पिटलको सहकार्यमा शनिबार बुढानीलकण्ठ नगरपालिका–१३, गम्चास्थित गणेश मन्दिर अगाडि रहेको फल्चामा निःशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शनिबार परेको वर्षाका बाबजुद पनि पाल टाँगेर सञ्चालन गरिएको उक्त शिविरमा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरबाट करिब १२० जना भन्दा बढी ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाले दन्त तथा मुख स्वास्थ्य परीक्षण, आवश्यक परामर्श तथा स्वास्थ्य सचेतना सेवा प्राप्त गरेका छन्।

प्रतिकूल मौसमका बीच पनि स्वास्थ्य सेवा समुदायसम्म पुर्याउने उद्देश्यका साथ सञ्चालन गरिएको शिविरले स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै मुख तथा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रमको सफलताका लागि ओम समाज डेन्टल हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मी टोली, स्वयंसेवकहरू, स्थानीय सहयोगीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति बुढानीलकण्ठ सोसल युथ क्लबले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
क्लबले आगामी दिनहरूमा पनि समुदायको स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा यस्ता जनहितकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

































