कोलकातादेखि विराटनगरसम्म पहिलो सिधा कार्गो रेल

तेस्रो मुलुकबाट आयात हुने सामान सिधै नेपाल कस्टम यार्डसम्म, ढुवानी लागत र समय घट्ने अपेक्षा

1.65K
shares

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट पहिलोपटक सिधै विराटनगरस्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सेवा सुरु भएको छ। नेपाल–भारत पारवहन व्यवस्थाअन्तर्गत लागू गरिएको यस सेवाले पूर्वी नेपालको औद्योगिक तथा व्यापारिक गतिविधिलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

कोलकाताबाट शुक्रबार प्रस्थान गरेको पहिलो कार्गो रेल स्वस्तिक आयल इन्डस्ट्रिजका लागि आवश्यक कच्चा पदार्थ बोकेर विराटनगरतर्फ आएको हो। रेलमा रहेका सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली जडान गरिएको छ, जसले ढुवानी प्रक्रियालाई सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

यो सेवा सञ्चालनमा आएपछि तेस्रो मुलुकबाट आयात हुने सामान भारतीय रेल सञ्जालमार्फत सिधै विराटनगरको एकीकृत जाँच चौकी ९आईसीपी० भित्र रहेको नेपाल कस्टम यार्डसम्म ल्याउन सकिने भएको छ। यसअघि कार्गो रेल भारतको बथनाहा स्टेशनसम्म मात्र पुग्ने र त्यसपछि ट्रकमार्फत नेपाल ल्याउनुपर्ने अवस्था थियो।

विराटनगर भन्सार कार्यालयका अनुसार सेवा नियमित भएपछि उद्योगी–व्यवसायीले ढुवानीमा लाग्ने समय र खर्च उल्लेखनीय रूपमा घटाउन सक्नेछन्। पूर्ण रूपमा सञ्चालनमा आएपछि एकै पटक ४५ वटासम्म ४० फिट क्षमताका कन्टेनर विराटनगरसम्म ल्याउन सकिने व्यवस्था हुनेछ।

उक्त मार्गको अवधारणा केही वर्षअघि नै उद्घाटन भए पनि नीतिगत र प्रक्रियागत जटिलताका कारण नियमित सञ्चालन हुन सकेको थिएन। भारत सरकारले आवश्यक नियम संशोधन गरेपछि अहिले सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पूर्वी नेपालका उद्योगी–व्यवसायीले यसलाई व्यापार र उत्पादन लागत घटाउने महत्वपूर्ण अवसरका रूपमा स्वागत गरेका छन्। उनीहरूका अनुसार दोहोरो लोड–अनलोडको झन्झट हट्ने, ढुवानी छिटो हुने र लागत करिब ४० प्रतिशतसम्म घट्ने सम्भावना रहेको छ।

यद्यपि, उद्योगीहरूले विराटनगरस्थित कस्टम यार्डको पूर्वाधारलाई थप व्यवस्थित बनाउन सरकारसँग आग्रह गरेका छन्। आयातित सामान सुरक्षित राख्न पर्याप्त गोदाम, छाना र अन्य आवश्यक संरचना निर्माण गरिए मात्रै सेवा दीर्घकालीन रूपमा प्रभावकारी हुने उनीहरूको भनाइ छ।

कार्गो रेल सेवा नियमित र प्रभावकारी रूपमा सञ्चालन हुन सके पूर्वी नेपालको औद्योगिक उत्पादन, आयात–निर्यात व्यापार र क्षेत्रीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


divya collage
unigloble collage