देउवाको आग्रह : लोकतन्त्र र संविधानको सुरक्षाका लागि सबै शक्ति एक ठाउँमा आउनुपर्छ

351
shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधान, राष्ट्रियता तथा नागरिक अधिकारको संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज र युवा पुस्ताले साझा प्रतिबद्धतासहित अघि बढ्नुपर्ने बताएका छन्।

जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा सार्वजनिक सन्देशमार्फत देउवाले लोकतान्त्रिक संस्थाहरू कमजोर बन्दै गए देशको स्वाधीनता र राष्ट्रिय हितसमेत प्रभावित हुन सक्ने बताएका हुन्। उनले पछिल्ला घटनाक्रमले न्यायपालिका, संवैधानिक निकाय तथा अन्य लोकतान्त्रिक संरचनामाथि दबाब सिर्जना हुने संकेत देखिएको भन्दै त्यसप्रति गम्भीर चासो व्यक्त गरेका छन्।

देउवाले नेपाली कांग्रेस अहिले प्रतिपक्षमा रहे पनि संविधानको रक्षा, सुशासनको प्रवर्द्धन र राजनीतिक स्थिरताका लागि जिम्मेवार तथा रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले द्वन्द्व र विभाजनको राजनीतिबाट माथि उठेर संवाद, सहकार्य र आपसी विश्वासका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

सन्देशमा उनले बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति आजको परिस्थितिमा पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै लोकतन्त्र, सामाजिक न्याय, समावेशिता र आर्थिक समृद्धि कांग्रेसको मूल राजनीतिक दिशानिर्देशक सिद्धान्त भएको बताएका छन्।

विदेशमा उपचाररत रहे पनि आफ्नो ध्यान देशको अवस्था, जनताको हित र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमै केन्द्रित रहेको देउवाको भनाइ छ। उनले वर्तमान चुनौतीहरूको सामना गर्न सबै लोकतान्त्रिक शक्तिबीच एकता, सहकार्य र साझा उद्देश्य आवश्यक रहेको उल्लेख गर्दै संविधानवाद, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा दृढतापूर्वक उभिन सबैलाई आग्रह गरेका छन्।

 


divya collage
unigloble collage