मलेसियन रेमिट्यान्स कम्पनीले बक्यौता नतिरेको भन्दै नेपालमा कारोबार राेक्न राष्ट्र बैंकलाई निर्देशन
वि.सं.२०७५ मंसिर १४ शुक्रवार १३:२९
shares

काठमाडौँ । भुक्तानी गर्नुपर्ने बक्यौता भुक्तानी नगरेको भन्दै मलेसियाको एक रेमिट्यान्स कम्पनीलाई नेपालमा कारोबार गर्न रोक लगाइएको छ ।
मलेसियन रेमिट्यान्स कम्पनी म्याक्स मनी एसडिएन बिएचडिसँग कुनै पनि कारोबार नगर्न नेपाल राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । मलेसियास्थित म्याक्स मनी कम्पनीले करिब ३ महिना अघि हिमालयन बैंकले झुटो विवरणका आधारमा ३ अर्बभन्दा बढी रकम भुक्तानी लिएको भन्दै पत्रकार सम्मेलन गरेको थियो । तर, हिमालयनले म्याक्सले नै पैसा खाइदिएको भन्दै आएको छ ।
अध्ययन अनुसार म्याक्स मनी बदमाशी देखिएको भन्दै राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मको लागि कारोबार रोक्का गरेको छ । यस कम्पनीले रेमिट्यान्स कारोबार बापत भुक्तानी गर्नुपर्ने बक्यौता रकम नदिएको भन्दै बाणिज्य बैंक र विकास बैंकहरुलाई सो कम्पनीसँग कारोबार नगर्न भनेको हो ।
राष्ट्रबैंक विदेशी विनिमय विभागबाट जारी गरिएको सूचनामा राष्ट्र बैंकले अर्को व्यवस्था नगरेसम्मको लागि कारोबार नगर्न सुझाएको हो । केन्द्रीय बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी कारोबार नगर्न परिपत्र जारी गरेको जनाएको छ ।











