१० लाख विदेशी पर्यटक भित्रिएको भन्दै पोखरामा ‘सेलिब्रेसन’, व्यवसायीले भने पत्याएनन् !

6.45K
shares

पोखरा । चालु अङ्ग्रेजी वर्षमा १० लाखभन्दा बढी पर्यटक नेपाल आएको खुसियालीमा आयोजना गरिएको कार्यक्रममा पर्यटन व्यवसायीको बाक्लो उपस्थिति थियो। पुसको जाडोमा उनीहरुको आङमा बाक्लो कपडा स्वभाविक हो। तर, वातावरण यस्तो बन्यो कि, व्यवसायीहरुले नै ‘सेलिब्रेसन’लाई हाँसी मजाकमा उडाउन थाले।

‘ ९ लाख ७५ हजार टुरिष्ट त मैले नै गनेको हो’, टे«किङ एजेन्जिस एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले आफ्नो साथीसँग व्यङ्ग्य मिश्रित लवजमा भने, ‘बाँकी २५हजार म भित्र गएको बेला आए होलान!’ सँगैका पर्यटन व्यवसायी मज्जाले हाँसे। अर्थात्, उनीहरु नेपालमा १० लाख पर्यटक भित्रिएको मान्न तयार थिएनन्। नेपाल आएकामध्ये कम्तिमा ४० प्रतिशत पर्यटक पोखरा आउने गरेको तथ्याङ्क पल्टाउँदै उनीहरुले भने, ‘त्यसो भए त पोखरामा ४ लाख विदशी पर्यटक त आउनु पर्ने हो नि! तर, हाम्रा होटल सधैँ आधा मात्र भरिएका छन्।’

पर्यटन व्यवसायीहरुको अर्को संस्था नाट्टाका पूर्व अध्यक्ष सन्तोष पोखरेलका अनुसार यो वर्ष पोखरामा रहेका होटलहरुको सरदर ‘अक्कुपेन्सी’ ३२ प्रतिशत हाराहारीमा मात्र रहेको छ। उनका अनुसार नेपाल पर्यटन बोर्डले भने अनुसारको संख्यामा विदेशी पर्यटक आएको भए यहाँका होटल भरिभराऊ हुने थिए। उनले पनि तथ्याङ्कमै जिब्रो लेप्प्रयाए। त्यसो त नेपाल पर्यटन बोर्डले यो वर्ष १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिएको सार्वजनिक गर्नासाथ पथप्रदर्शक तथा युुनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले फेसबुकमार्फत यो घोषणा तथ्यमा आधारित नभएको प्रतिक्रिया दिएका थिए।

पर्यटन बोर्डले १० लाख पर्यटक भित्रिएको दावी गरिरहँदा व्यवसायीहरुले भने तथ्यमा आधारित भएर आफ्ना गतिविधि बढाउन आग्रह गरेका छन्। उनीहरुले गुणस्तरीय अर्थात बढी पैसा खर्च गर्ने पर्यटक नआउँदासम्म नेपालमा पर्यटक नै बढे पनि त्यसल अर्थतन्त्रलाई खासै टेवा नदिने दावी पनि गरे। ‘अहिले पर्यटन क्षेत्र अस्तव्यस्त छ, न भनेजस्तो कामदार पाइन्छ न त गुणस्तरीय पर्यटक नै आउँछन्’, केक काट्ने समारोहमा सहभागिता नजाउने घोषणासँगै बाहिरिएका पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले भने, ‘हामी कामभन्दा बढी कुरामा रमाउँछौँ।’

जे होस, गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले खुसियालीमा सजाइएको केक काटे। उनले संख्याभन्दा पनि गुणस्तरीय पर्यटकको आवागमनले ठूलो अर्थ राख्ने हुँदा बढी पैसा खर्च गर्ने पर्यटक भित्र्याउने पहल थाल्नु पर्नेमा जोड दिए। ‘हामी दिनमा ५३ डलर हैन कि १ हजार डलर खर्च गर्ने पर्यटक ल्याउन चाहन्छौँ, प्रदेश सरकारलले त्यसको लागि काम गर्दैछ’, उनले भने, ‘यसमा निजी क्षेत्रले पनि सघाउनुपर्छ।’

अन्नपूर्ण क्षेत्रमा आएकी एक विदेशीलाई स्थानीयले लखेटेको समाचारले पर्यटन क्षेत्रलाई गम्भीर असर परेको प्रसङ्ग उप्काउँदै उनले पर्यटकहरुको मन दुखाउने हैन कि पूर्ण आतिथ्यता प्रदान गर्न व्यवसायीहरुसँग आग्रह पनि गरे। नेपाल पर्यटन बोर्ड पोखरामा प्रमुख व्यवस्थापक सूर्य थपलियाले सरकार र निजी क्षेत्रको साझा प्रयासले मात्र नेपालको पर्यटन क्षेत्रको विकास हुने हुँदा सहकार्यको लागि निजी क्षेत्रसँग आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083