६ महिनामा सात करोड रुपैयाँका घोडा तथा खच्चड आयात
वि.सं.२०७५ फागुन २० सोमवार १६:०५
shares

काठमाडौं। सरकारले मासु र मासुजन्य सामाग्रीमा आत्मनिर्भर हुने गरी नीतिगत सुधार गरेको दाबी गरेपछि आयात भने निरन्तर बढेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन अर्ब १२ करोड २३ लाख ३० हजार बराबरको पशुपक्षी उत्पादन तथा उत्पादन सामग्रीको आयात भएको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई उपलब्ध गराएको तथ्यांकअनुसार गाईगोरु, बाच्छाबाच्छी मात्रै ८० लाख २० हजार बराबरको आयात भएको जनाएको छ। यस्तै राँगो, भैँसी, पाडापाडीको आयात ७३ करोड ६१ लाख ७५ हजार बराबरको भएको छ। यस्तै बंगुर, सुँगुर ६८ लाख छ हजार, घोडा, खच्चर सात करोड पाँच लाख ६४ हजार, प्यारेन्ट स्टक चल्ला लेयर्स आठ करोड ६१ लाख ६८ हजार, प्यारेन्ट स्टक चल्ला ब्रोइलर ५२ करोड २६ लाख ३६ हजार, ग्राण्ड प्यारेन्ट स्टक३२ करोड ५८ लाख ९२ हजार आयात भएको छ। यस्तै काँचो दूध मात्रै९५ लाख १२ हजार, धुलो दूध ४३ करोड ९० लाख ६९ हजार बराबरको आयात भएको छ। अन्य दुग्धजन्य उत्पादन मात्रै एक अर्ब ५३ करोड ९२ लाख ४१ हजार बराबरको आयात भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धुलो दूध आयातमा रोक लगाएको बताए पनि रोकिन सकेको छैन। केन्द्रको विवरणअनुसार एक प्रकारको कुखुराको अण्डा एसपिएफ एक करोड १२ लाख, खाने माछा ८० करोड ९१ लाख ७१ हजार, फ्रोजन मटन, चिकेन, पोर्क मात्रैतीन करोड ५९ लाख ६८ हजार र राँगोको मासु ५१ लाख २० हजारको आयात भएको छ। कृषि उत्पादनलाई बढावा दिने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले देशका ८३ स्थानलाई जोन, सुपरजोन अवधारणा अगाडि बढाएको छ तर कृषि उपजको आयातको अवस्था डरलाग्दो देखिएको छ। व्यापार घाटा बढाउन कृषि उपजको आयात पनि प्रमुख कारण रहेको पाइएको छ।

























