जामन गुभाजुको कथा अब चलचित्रमा

वि.सं.२०७५ मंसिर ७ शुक्रवार ०८:३८
shares

काठमाडौँ । सत्रौँ शताब्दीमा काठमाडौँका सिद्धहस्त जाःमन गुभाजुको जीवनीमा आधारित चलचित्र निर्माण गरिएको छ । जेस्सि पेन्नी इन्टरनेट र वाइड बुल्स प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको ‘जाःमन गुभाजु’ नामक चलचित्रको छायाङ्कन चित्लाङमा गरिएको छ । गुवाजुको दैनिक कार्य तालिकामा प्रयोग हुने तन्त्र, मन्त्र लगायत साधनाका बारे पनि सो चलचित्र मार्फत जानकारी दिन खोजिएको छ ।
करीब दुई घण्टा समयावधिको उक्त चलचित्रमा गुवाजुले तान्त्रिक विद्या मार्फत समाजसेवामा पु¥याएको योगदानका साथै जप, तप, ध्यानका माध्यमबाट खराब तत्वमाथि प्राप्त गरेको सफलताका बारेमा विषयवस्तु समावेश गरिएको छ । हाल काठमाडौँ महानगरपालिका–१२ स्थित १२ वर्षे इनारमा पर्ने गुवाजुको घर तथा त्यस वरपर क्षेत्रका स्थानीयवासी बुढापाकाका अनुभवका साथै उहाँका कार्यलाई तीन वर्षदेखि अध्ययन र अनुसन्धान गरिएको छ ।
करीब ५० लाखको लागतमा नेपाल भाषा (नेवारी) मा निर्माण गरिएको सो चलचित्रलाई नेपाली र अङ्ग्रेजी भाषामा समेत अनुवाद गरेर विदेशमा समेत प्रदर्शन गरिने छ । तत्कालीन समयका परम्परागत बाजागाजा समेत चलचित्रमा समावेश गरिएको छ । पछिल्लो पटक विकास भएको अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सो चलचित्रमा गुवाजुको भूमिकामा सुशील राजोपाध्याय र उहाँको श्रीमतीका रुपमा सरस्वती मानन्धरले अभिनय गर्नुभएको छ । रासस