गायक सपूत सद्भावना दूतमा नियुक्त

२०७६ पुस १८ शुक्रवार
1.1K
shares
बागलुङ । गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो ।
गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए ।
गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको धारणा राखेका छन् । “म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु”, उनले भने, “मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु ।”
भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाए । “विशेषगरी आन्तरिक पर्यटकलाई गण्डकी प्रदेश भ्रमणका लागि आकर्षित गर्नु मेरो दायित्व हुनेछ”, उनले भने“विदेशका कार्यक्रममा पनि भ्रमण वर्षको प्रचार गर्छौँ ।”
गायक सपूत अहिलेको नेपाली लोकसङ्गीत जगत्मा सफल प्रतिभा हुन्छ । सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन् । केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ ।
डेढ वर्षअघि सार्वजनिक ‘बोलमाया’ गीतले सपूतलाई एकाएक चर्चामा ल्याएको थियो । प्रेदशमा प्रियजन गुमाउने परिवारको बेदनामा आधारित उक्त गीत ‘युट्युव ट्रेन्डिङ’ को १ नं मा आउन सफल भएको थियो । त्यसयता गायक सपूतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् । सपूत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यसमेत छन् ।
गायक सपूतसँगै म्याग्दीका कीर्तिमानी आरोही निर्मल पूर्जा पनि भ्रमण वर्ष २०२० को सद्भावना दूतका रुपमा नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकारले पनि भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

२०७६ पुस १८ शुक्रवार