विप्लप समूहका जिल्ला सदस्य सापकोटा पक्राउ

वि.सं.२०७६ पुस २५ शुक्रवार ०६:४५
shares

परासी । सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ निवासी २६ वर्षीय सापकोटालाई आज इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
विसं २०७५ फागुन ३० गते चन्द समूहले गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा फागुन २९ गते राति पश्चिम नवलपरासीको सरावल-१ तुल्सीनगरस्थित पूर्व-पश्चिम राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई सङ्गठित अपराध गरेको सापकोटामाथि आरोप लागेको थियो ।
त्यस्तै २०७६ साउन १६ गते बर्दघाट-१३ धनेवास्थित एनसेल टावरमा बम विस्फोटमा संलग्न रहेको मुद्दामा सापकोटा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान थालिएको उनले बताए ।