भ्रमण वर्ष : मोटरसाइकल यात्रा

२०७६ पुस २५ शुक्रवार
969
shares
बागलुङ । पाँचथरका हर्क नेम्वाङ नौ दिनको मोटरसाइकल पछि बिहीबार बागलुङ आइपुगे । झण्डै ११ सय किमी यात्रा तय गर्दा पनि थकित देखिएका थिएनन् । स्तरहीन सडक र प्रतिकूल मौसमका बीच पनि नेम्वाङलाई यात्रा कष्टकर लागेन ।
“यात्रा रोमाञ्चक बनिरहेको छ र साहसिक पनि”, नेम्वाङले यात्रा अनुभव सुनाए । यात्रामा उनी एक्लो भने भएनन् । विभिन्न पेशा, व्यवसायमा आबद्ध पाँचथरका ११ युवा मोटरसाइकल यात्रामा निस्केका छन् । यात्राको अगुवाइ भने नेम्वाङले गर्नुभएको छ । भ्रमण वर्ष शुभारम्भकै दिन पूर्वी पाँचथरको चिवाभञ्ज्याङबाट शुरु भएको मोटरसाइकल यात्रा पश्चिम बैतडीको झुलाघाट पुगेर टुङ्गिनेछ ।
करिव १८ सय किमीको मध्यपहाडी लोकमार्ग पार गरेपछि गन्तव्यमा पुगिने यात्राका सहभागी गिरीराज बाँस्कोटाले बताए । मध्यपहाडी पुष्पलाल लोकमार्ग मध्यपहाडका २३ जिल्ला हुँदै नेपाललाई पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना हो । भर्खर मार्ग खुलेको लोकमार्गको अधिकांश भाग कच्ची नै छ । भ्रमण वर्षसँगै मध्यपहाडी लोकमार्ग क्षेत्रमा पर्ने पर्यटकीय गन्तव्यको प्रवद्र्धन, लोकमार्गले ल्याएको सामाजिक परिर्वतनको अध्ययन, प्रदेश नं १ का पर्यटकीयस्थलको प्रचारलगायतका उद्देश्य राखेर पूर्वपश्चिम मोटरसाइकल यात्रा शुरु गरिएको जनाइएको छ ।
सो यात्रालाई पाँचथर–बैतडी ‘नेपाल यात्रा’ नामकरणसमेत गरिएको छ । “विशेष गरी मध्यपहाडी लोकमार्गले समेट्ने २३ जिल्लामा भ्रमण वर्षको प्रचार गर्नु यात्राको मुख्य उद्देश्य हो”, नेम्वाङले भन्नुभयो, “यात्राका क्रममा सङ्कलित फोटो, भिडियो समावेश गरेर विभिन्न प्रकाशन तथा प्रसारण सामग्री पनि तयार गर्नेछौँ ।” यात्राका लागि कुनै पनि सरकारी निकायबाट आर्थिक सहयोग नलिइएको उनले स्पष्ट पारे ।
यात्रामा सहभागी जिल्ला सदरमुकाम र स्थानीय तहमा पुग्दा सङ्घसंस्था तथा सर्वसाधारणले स्वागत, सत्कार गर्ने गरेका छन् । कतिपय ठाउँमा खाना, आवासमा समेत निःशुल्क सहयोग गरेको सहभागीको भनाइ छ । बिहीबार बागलुङमा पनि नेपाल पत्रकार महासङ्घले यात्राका सहभागीलाई स्वागत गरेको थियो । सो अवसरमा शाखाका अध्यक्ष दिल शिरिषले भ्रमण वर्षको प्रवद्र्धनमा यस किसिमका यात्रा तथा भ्रमणले सघाउने विश्वास व्यक्त गरे। “भ्रमण वर्ष २०२० लाई सफल पार्नु हामी सबैको दायित्व हो”, उनले भने ।
सहभागीले यात्राका क्रममा भूगोल, संस्कृति, रहनसहनबारे स्थानीयवासीसँग छलफलसमेत गर्ने गरेका छन् । भ्रमण वर्षमा प्रदेश नं १ को भ्रमण गर्न निम्तोसमेत दिने गरिएको छ । यात्रा शुरु गरेपछि सहभागी पन्ध्रौँ जिल्लाका रुपमा बागलुङ प्रवेश गरेका हुन् । बागलुङको पश्चिम बुर्तिबाङमा रात बिताएपछि आज निसीखोला गाउँपालिका हुँदै रुकुम प्रवेश गर्दैछन् । बैतडीको झुलाघाट पुग्न अझै ७०० किमी यात्रा गर्न बाँकी छ । झुलाघाट मध्यपहाडी पुष्पलाल लोकमार्गको अन्तिम बिन्दु हो । लोकमार्ग क्षेत्रमा २१५ भन्दा बढी बस्ती छन् । यात्राका सहभागी भने नयाँनयाँ ठाउँ पुग्न, घुम्न उत्सुक छन् ।

२०७६ पुस २५ शुक्रवार