अझै पक्राउ परेनन् वडा कार्यालय जलाउने युवा

Nepal Life Insurance Long Ad

वीरेन्द्रनगर नगरपालिका–१ को वडा कार्यालयमा पेट्रोल छर्केर आगो लगाउने युवालाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । बुधबार बिहान  सोही वडाका बास्तम लामिछाने भन्ने व्यक्तिले वडा अध्यक्ष गंगाराम सुनारलाई ज्यान मार्ने धम्की दिँदै वडा कार्यालयमा आगजनी गरेका थिए । आगजनी गर्नुअघि वडाअध्यक्ष सुनारलाई ती युवकले वडा कार्यालयकै फोन नम्बरबाट फोन गरी धम्की दिएका थिए । त्यसको केही समयमा नै उनले वडा कार्यालयमा आगजनी गरिदिएका थिए ।

आगजनीबाट वडाध्यक्षको कार्यकक्षमा पूर्ण क्षति पुगेको छ । अध्यक्ष बस्ने कुर्सी, सोफा, दराज त्यहाँ रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएको छ । घटनास्थलमा प्रहरी पुग्दा नपुग्दै लामिछाने फरार भइसकेका थिए । घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वडा कार्यालयले लामिछानेको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता समेत गरेको छ । तर, ती युवकलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।

घटनास्थलबाट सय मिटर दुरीमा रहेको प्रहरीले उनलाई अझै पक्राउ गर्न नसकेको हो । आगजनी भएको केही समयपछि प्रहरी त्यहाँ पुगेको थियो ।  घटनास्थलमा मुचुल्का गर्नका लागि भने जिल्ला प्रहरी कार्यालयबाट करिब १ घण्टा पछाडि मात्रै प्रहरी त्यहाँ पुगेको थियो ।

प्रहरी भन्छ –आगजनी गर्नयुवा जंगलतिर पसे, खोजी भइरहेको छ

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख  एवम् प्रहरी उपरीक्षक  पदमबहादुर विष्टले वडाअध्यक्षलाई मार्ने धम्की दिएर वडा कार्यालय आगजनी गर्ने  युवकलाई अझै पक्राउ गर्न नसकिएको बताए । ‘उनी आगजनी गरेलगत्तै पश्चिम क्षेत्रमा रहेको जंगलतिर पसेकाले खोज अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘उनलाई केही दिन अघिमात्रै हामीले जेलमुक्त गरेका थियौँ । बास्तमको यसअघिको क्रियाकलाप पनि गतिलो छैन् । यसअघि काठमाडौँमा समेत विभिन्न अपराध गरेको कारण पक्राउ गरिएको थियो ।’

विष्ट भन्छन्– ‘उनी मानसिक रुपमा तन्दुरुस्त देखिँदैनन् । वडा कार्यालयमा आगजनी गर्नुपूर्व पेट्रोल हाल्नका लागि त्यहीकै कर्मचारीसँग बोतल मागेका रहेछन् । त्यसपछि उनले पेट्रोल छर्केर आगजनी गरेको भेटियो ।’ प्रहरीका अनुसार लामिछानेले यसअघि पनि वडाअध्यक्षलाई धम्की दिएका थिए । प्रहरी उपरीक्षक विष्टले भने, ‘यसअघि नै उनले आफ्नो घरको अगाडिको सडक पिच गर्छस् कि गर्दैनस् भनेर धम्की दिँदै आएका रहेछन् । हाम्रो टोलीले खोजी कार्य गरिरहेको छ । पक्राउ परेपछि खबर गरम्ला नि !’

७ असोज २०७८, बिहीवार १३:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु