आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू
आज (बिहीबार) २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेको छ । महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ ।
त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको छ ।
यो १६ दिन महिला हिंसा अन्त्यका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी अभियानकै रूपमा सञ्चालन गरिन्छ । नेपालमा यो १६ दिन विभिन्न संघसंस्था तथा संघ, प्रदेश र स्थानीय सरकारले गोष्ठी तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाउने गर्दछ ।
९ मंसिर २०७८, बिहीवार १३:०१ बजे प्रकाशित